पाेखरा विमानस्थलमा स्मार्ट डिस्प्ले बोर्ड स्थापना

-


     हिड्न खबरदाता     
     जेठ २७ गते २०८३ मा प्रकाशित


पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी प्रदान गर्ने उद्देश्यले स्मार्ट डिस्प्ले बोर्ड स्थापना गरेको छ।

पाेखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले उक्त बोर्डको उद्घाटन गरेका हुन्।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा कार्यालयसँगको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको उक्त बोर्डमार्फत गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूको परिचय तथा जानकारी प्रदान गरिनेछ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदेशका आकर्षक पर्यटकीय स्थलहरूको जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बोर्ड स्थापना गरिएको अध्यक्ष कार्कीले बताए। उनले बोर्ड स्थापनाका लागि आवश्यक समन्वय र सहयोग गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा कार्यालयकी निमित्त प्रमुख जसोदा सुवेदीसहित सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पैरवी, रिले अनशन तथा विभिन्न आन्दोलनात्मक कार्यक्रमको नेतृत्व गर्दै आएको पोखरा उद्योग वाणिज्य संघले पर्यटकीय राजधानी पोखरा तथा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त बोर्ड स्थापना गर्ने पहल गरेको संघकी महासचिव शोभा गौतमले जानकारी दिइन्।

उनका अनुसार स्मार्ट डिस्प्ले बोर्डले पर्यटकलाई गण्डकी प्रदेशका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन गन्तव्यबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।