सौन्दर्यकर्मीहरूका लागि एकदिने लाइभ डेमोन्स्ट्रेशन सेमिनार सम्पन्न

-


     हिडन खबर    
     जेठ १९ गते २०८३ मा प्रकाशित


बागलुङ, १९ जेठ

सौन्दर्यकला व्यवसायी संघ बागलुङको आयोजनामा सौन्दर्यकर्मीहरूका लागि एकदिने लाइभ डेमोन्स्ट्रेशन सेमिनार सम्पन्न भएको छ।

सौन्दर्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै आय–आर्जनमा समेत सहयोग पु¥याउने उद्देश्यले कुमकुम हर्बल प्रालिको सहयोगमा अनुहार तथा कपालको श्रृङ्गारका लागि आवश्यक सामग्रीसहित सैद्धान्तिक तथा व्यवहारिक सेमिनार आयोजना गरिएको हो।

बागलुङ, पर्वत र म्याग्दीमा व्यवसाय सञ्चालन गर्दै आएका सौन्दर्यकर्मीहरूको सहभागितामा सेलोभेरा प्रो, न्यानो पलास्टीया, डाक्टर स्किन फेसियल मिट सम्बन्धी लाइभ डेमोन्स्ट्रेशन गरिएको थियो।

६० जना सहभागी रहेको सेमिनारमा हेयर स्टाइलिस्ट विष्णु पुन तथा आइसिटी बागलुङकी सञ्चालक चन्द्रकला छन्त्याल लामा सहितको टोलीले लाइभ डेमोन्स्ट्रेशन प्रस्तुत गरेका थिए।

सेमिनारको उद्घाटन गर्दै कुमकुम हर्बल प्रालिका सञ्चालक दिपेश श्रेष्ठले नेपालमै उत्पादन भएका सामग्रीको प्रयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

उहाँले आफ्नै देशमा उत्पादन भएका सामग्री प्रयोग गर्दा समस्या नहुने र समस्या देखिएमा गुनासो राख्न सकिने भएकाले नेपालमा उत्पादन भएका सामग्री प्रयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा कुमकुम हर्बलका व्यवसाय अधिकारी ईश्वर रिजालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।

सेमिनार सौन्दर्यकला व्यवसायी संघ बागलुङकी अध्यक्ष पार्वती अधिकारीको अध्यक्षता, पूर्व अध्यक्ष सनिसा घर्तीको स्वागत, संघकी सहसचिव सन्ध्या राजभण्डारी श्रेष्ठ र पत्रकार ताराप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।