जैमिनी बालमैत्री नगर घोषणा

-


     सुजन आचार्य     
     जेठ १८ गते २०८३ मा प्रकाशित


बागलुङ, जेठ १८

जैमिनी नगरपालिका बालमैत्री नगर घोषणा भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार जैमिनी नगरलाई बालमैत्री शासनयुक्त नगरको रूपमा घोषणा गरे।

मुख्यमन्त्री पाण्डेले बालमैत्री नगर बन्ने मात्र नभई भविष्यमा बालबालिकाको अधिकार सुनिश्चित गर्ने, अभिभावकलाई सचेत बनाउने र नगरलाई बालमैत्री अवधारणामा निरन्तर अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले यसका लागि नागरिकको निरन्तर अनुगमन र खबरदारी आवश्यक हुने बताए।

नगरपालिकाले बालमैत्री अद्यावधिकका लागि नियमित बजेट व्यवस्थापन, कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नुपर्ने सुझाव पनि उनले दिए।सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले बालमैत्री नगर घोषणामा हस्ताक्षर गरे। साथै, उज्यालो जैमिनी अभियानअन्तर्गत नगरपालिकाले अभिभावकसहित आवासीय रूपमा बसिरहेका चार बालबालिकालाई बत्ती हस्तान्तरण गर्‍यो।

बालमैत्री नगर घोषणा गर्न जन्मदर्ता, कुपोषण अन्त्य, पूर्ण खोप, शिक्षामा पहुँच, बालविवाह रोकथाम तथा निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चितता जस्ता सूचक पूरा गर्नुपर्ने प्रावधान छ।

जिल्ला अनुगमन समिति र प्रदेश सरकारले सूचक पूरा भएको प्रमाणित गरेपछि स्थानीय तहलाई बालमैत्री घोषणा गर्न सकिन्छ।नगर उपप्रमुख हरिहर शर्माले शिक्षा र स्वास्थ्य क्षेत्रका सूचक विद्यालय तथा स्वास्थ्य चौकी तहमै पूरा भएको जानकारी दिए।

समुदायमा पूरा गर्नुपर्ने सूचकका लागि वडा र टोलस्तरमा अनुशिक्षण, कानूनी साक्षरता अभियान र अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले बताए।‘अब हाम्रो नगर बालमैत्री शासनयुक्त भएको छ,’ शर्माले भने, ‘निर्णय प्रक्रियामा समेत बाल सहभागिता सुनिश्चित गरेका छौँ।’

मुख्यमन्त्री पाण्डेले आगामी २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री पालिका बनाउने राष्ट्रिय अभियान पूरा गर्नुपर्ने बताए। उनले विशेषगरी बालविवाह अन्त्य र निर्णय प्रक्रियामा बाल सहभागिता प्रमुख चुनौती रहेको उल्लेख गरे।

प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले स्वास्थ्य क्षेत्रका सूचक अद्यावधिक गर्न स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको निरन्तर सहभागिता रहेको जानकारी दिए।यसअघि बागलुङ नगरपालिका (२०८१ माघ ९) र गलकोट नगरपालिका (२०८० जेठ १५) बालमैत्री घोषणा भइसकेका थिए। ती पालिकाले पनि बालमैत्री नगरको निरन्तरताका लागि काम गरिरहेका छन्।

बालमैत्री नगर बनेपछि विद्यालयमा बालमैत्री स्रोत शिक्षक नियुक्त, वडा तथा पालिकामा फोकल पर्सन तोकिएको, विद्यालय सुधारका लागि कार्यसम्पादन करार गरिएको, छात्रवृत्ति, विद्यालय–समुदाय सम्बन्ध सुधार, मासिक बैठक, पाठ्यक्रम कार्यान्वयन, अभिलेखीकरण चुस्त बनाउने जस्ता कार्यक्रम सञ्चालन भएका छन्।

विद्यालयका शौचालय, धारा र पुस्तकालय बालमैत्री पहुँचसहित निर्माण गरिएको छ। स्वास्थ्य, पूर्ण खोप, सरसफाइ र शुद्ध खानेपानीको व्यवस्थापन विद्यालय तहमै गरिएको छ। तर विद्यालय उमेरमै विवाह गर्ने घटना भेटिएकाले बालविवाह न्यूनिकरण अझै चुनौती रहेको नगर शिक्षा अधिकृत मिरादेवी शर्माले बताइन्।कार्यक्रम नगरप्रमुख नरबहादुर पुनको अध्यक्षता, शिक्षा अधिकृत मिरादेवी शर्माको सञ्चालन र उपप्रमुख हरिहर शर्माको स्वागतमा सम्पन्न भयो।

विद्यार्थीहरूले सामूहिक नृत्य प्रस्तुत गरेकाे कार्यक्रममा नगरप्रमुख पुनले प्रतिवेदन पेश गर्दै जैमिनीका ६८ सामुदायिक, एक संस्थागत विद्यालय र पाँच सामुदायिक सिकाइ केन्द्रमा ४ हजार ४ सय ४७ बालबालिका शिक्षाको पहुँचमा पुगेका, सबैले खोप पाएको र अन्य सूचकमा पनि प्रगति भएको जानकारी दिए।घोषणा कार्यक्रममा प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ तथा छिमेकी पालिकाका प्रमुख–अध्यक्ष सहभागी थिए।

विद्यार्थी र अभिभावकको झाँकी तथा ¥यालीले बजार परिक्रमा गरेर कार्यक्रम स्थल प्रवेश गरेका थिए।यस घोषणासँगै जैमिनी बागलुङको तेस्रो, गण्डकी प्रदेशको पाँचौँ र नेपालभरको ३०औँ बालमैत्री पालिका बनेको छ।