मौलिकताको पक्षमा सशक्त कदम : ‘यानी माया’मार्फत राम गगनको नयाँ प्रस्तुति

-


     केपी कुमार जलन     
     जेठ १७ गते २०८३ मा प्रकाशित


नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा पछिल्लो समय नयाँ सिर्जना र प्रस्तुति लिएर आउने कलाकारहरूको संख्या बढ्दो छ।

यही क्रममा कलाकार राम गगनको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न सफल भएको छ।

गीतको भिडियोमा नेपाली संगीत क्षेत्रका चर्चित सर्जक तथा कलाकार प्रकाश सपूत आकर्षक नृत्यमा देखिएका छन्। प्रकाश सपूतजस्ता लोकप्रिय कलाकारको सहभागिताले गीतप्रति दर्शकको चासो अझ बढाएको छ।

सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ।‘यानी माया’ ले नेपाली समाज, प्रेम, भावना र मौलिक संस्कृतिलाई समेट्ने प्रयास गरेको देखिन्छ। गीतको संगीत, शब्द, भिडियो निर्माण तथा कलाकारहरूको प्रस्तुति दर्शकले रुचाएका छन्।

विशेषगरी प्रकाश सपूतको नृत्य र अभिनयले भिडियोमा थप आकर्षण थपेको दर्शकहरूको प्रतिक्रिया छ।नेपाली मौलिक गीत–संगीतलाई नयाँ पुस्तामाझ पुर्‍याउने उद्देश्यका साथ तयार गरिएको ‘यानी माया’ आगामी दिनमा अझ धेरै दर्शकमाझ पुग्ने अपेक्षा गरिएको छ।