
लेखनाथ, १६ जेठ
लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार एक विशेष कार्यक्रमका बीच लमजुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गरेको छ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले संस्था व्यक्तिको हैन, विधिको आधारमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै नेतृत्वको दासत्वमा सञ्चालन हुनु नहुने बताइन्।उनले व्यवसायीहरूको हितमा निरन्तर काम गर्ने संघ सफल हुने विश्वास व्यक्त गरिन्।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले यो भ्रमण आफुहरूको पहिलो अध्ययन अवलोकन भ्रमण भएको उल्लेख गर्दै नेपालकै उत्कृष्ट वाणिज्य संघको रूपमा स्थापित लेखनाथ उद्योग वाणिज्य संघमा भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरे।
उनले लेखनाथ महोत्सवलाई देशकै नमुना महोत्सवको रूपमा प्रशंसा गर्दै यसले जिल्लाको आर्थिक गतिविधि र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए।
श्रेष्ठले लमजुङ उद्योग वाणिज्य संघको पृष्ठभूमि प्रस्तुत गर्दै संघ २०३२ सालमा स्थापना भएको र हाल ३ हजार २ सय सदस्यमध्ये ७ सय ५० सदस्य मात्र नवीकरण भएको जानकारी दिए। व्यवसायीहरूको मनोबल कमजोर हुनु र वर्तमान चुनौतीपूर्ण परिस्थिति यसका कारण भएको बताए।
साथै, संघमा हाल १० वटा बजार इकाइ रहेको र थप एक इकाइ स्थापना गर्ने योजना रहेको पनि उल्लेख गरे।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण कटुवालले व्यवसायिक संघ संस्थाको सफलता सदस्य संख्याले मात्र होइन, उद्योगधन्दा र व्यवसायको वास्तविक प्रगति तथा लाभान्वित व्यवसायीहरूको संख्याले मापन हुने बताए। उनले गुणस्तरीय सदस्यता कायम राख्नमा ध्यान दिनुपर्नेमा जोड दिँदै महासंघमा देखिएका विभिन्न वेथितिहरू विरुद्ध सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
सो अवसरमा अध्यक्ष जानुका पराजुली अधिकारीले नेपाल उद्योग वाणिज्य संघको हालै सम्पन्न ६०औं निर्वाचनमा केन्द्रीय सदस्य पदमा निर्वाचित मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण कटुवाललाई बधाईपत्रसहित सम्मान गरिन्।
त्यस्तै, अध्यक्ष भरत कुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य संघको कार्यकारिणी सदस्य पदमा निर्वाचित संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय, केन्द्रीय सदस्य पदमा निर्वाचित मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण कटुवाल तथा गण्डकी प्रदेश उद्योग वाणिज्य संघको कोषाध्यक्षमा निर्वाचित संघका पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई बधाई तथा शुभकामना व्यक्त गरे।
कार्यक्रम अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थियो ।













