
नेपाली लोकसंगीत क्षेत्रमा फरक स्वाद बोकेको नयाँ लोकदोहोरी गीत “चिठ्ठी के पठाम” दर्शक तथा श्रोतामाझ सार्वजनिक भएको छ। चर्चित गायक नकुल ढकाल र उनकी छोरी नबिना ढकालको सुमधुर स्वरमा सजिएको यस गीतले पारिवारिक सम्बन्ध, माया, सम्झना र भावनात्मक अनुभूतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
गीतका शब्दरचना स्वयं नकुल ढकालले गरेका हुन् भने लय सिर्जना वसन्त थापाले गरेका हुन्। लोकभाकाको मिठाससँगै आधुनिक प्रस्तुतिको संयोजनले गीतलाई अझ आकर्षक बनाएको छ। विशेषतः बाबा–छोरीको स्वरमा रेकर्ड गरिएको गीत भएकाले यसको भावनात्मक पक्ष झन् गहिरो बनेको छ।
गीतको म्युजिक भिडियोमा जुना विश्वकर्मा र नकुल ढकालको अभिनय देख्न सकिन्छ। भिडियोले गीतको भावलाई सुन्दर ढंगले चित्रण गरेको छ। गाउँघरको परिवेश, मायाप्रेमका अनुभूति र बिछोडका भावनालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ।
नबिना ढकाल हाल अष्ट्रेलियामा रहेर पनि नेपाली गीत–संगीतप्रति सक्रिय रहँदै आएकी छन्। विदेशमा बसेर पनि नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनको योगदान प्रशंसनीय रहेको छ। बाबासँगको यो सांगीतिक सहकार्यले नेपाली लोकसंगीतमा नयाँ उदाहरण प्रस्तुत गरेको छ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। श्रोताहरूले बाबा–छोरीको स्वरको मिठास, गीतका शब्द तथा प्रस्तुतिको खुलेर प्रशंसा गरिरहेका छन्।












