
नेपाली समाजमा सफलताको चर्चा हुँदा प्रायः पद, प्रतिष्ठा, तलब र बाहिरी उपलब्धिलाई उदाहरणका रूपमा प्रस्तुत गरिन्छ। कोही सरकारी सेवामा उच्च पदमा पुगेका हुन्छन्, कोही निजी क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरिरहेका हुन्छन्, त कोही व्यवसायमा सफल बनेका हुन्छन्। यस्ता उपलब्धिहरू निश्चय नै प्रशंसनीय छन्। तर सफलताका पछाडि मौन रूपमा उभिएका केही पात्रहरूको योगदानको चर्चा अपेक्षाकृत कम हुने गरेको छ। ती हुन्– आफ्नो परिवार, सन्तान र घरको जिम्मेवारीलाई केन्द्रमा राखेर जीवन बिताइरहेका लाखौँ महिलाहरू।
नेपालका गाउँदेखि सहरसम्म यस्ता असंख्य महिलाहरू भेटिन्छन्, जो शिक्षित छन्, सक्षम छन् र अवसर पाए बाहिरी क्षेत्रमा पनि उत्कृष्ट काम गर्न सक्ने क्षमता राख्छन्।
तर पारिवारिक अवस्था, बालबच्चाको जिम्मेवारी, वृद्ध अभिभावकको हेरचाह, जीवनका प्राथमिकता वा आफ्नै निर्णयका कारण उनीहरूले आफ्नो अधिकांश समय घरपरिवारलाई दिएका हुन्छन्। उनीहरूको दिन बिहानको पहिलो उज्यालोसँगै सुरु हुन्छ र रातको अन्तिम निद्रासम्म जिम्मेवारीले भरिएको हुन्छ।
उनीहरूको कामको कुनै निश्चित कार्यालय हुँदैन, तर पूरा घर नै उनीहरूको कार्यक्षेत्र हुन्छ। कुनै निश्चित समय हुँदैन, तर चौबीसै घण्टा जिम्मेवारी रहिरहन्छ। कुनै पद हुँदैन, तर उनीहरू परिवारका वास्तविक व्यवस्थापक हुन्छन्। कुनै औपचारिक तलब हुँदैन, तर उनीहरूको श्रमले परिवारको अमूल्य सम्पत्ति—विश्वास, संस्कार, अनुशासन र खुसी निर्माण गरिरहेको हुन्छ।
समाजमा अझै पनि कतिपयले घरमै बसेर परिवार सम्हाल्ने महिलालाई “केही नगर्ने” वा “करियर नबनाउने” भनेर मूल्याङ्कन गर्ने प्रवृत्ति देखिन्छ। यस्ता टिप्पणीहरू गलत मात्रै होइनन्, यसले एउटा महत्वपूर्ण पक्षलाई बेवास्ता गरेको हुन्छ। वास्तवमा, घरभित्रको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण काम हो भन्ने यथार्थलाई स्वीकार गर्न आवश्यक छ।
एउटा बच्चाको पहिलो विद्यालय घर हो र पहिलो शिक्षक आमाबुबा हुन्। बच्चाको व्यवहार, संस्कार, आत्मविश्वास, अनुशासन र जीवनप्रतिको दृष्टिकोण निर्माणमा परिवारको भूमिका निर्णायक हुन्छ। जब कुनै महिला आफ्नो समय र ऊर्जा सन्तानको हेरचाह, शिक्षादीक्षा र व्यक्तित्व विकासमा लगानी गरिरहेकी हुन्छिन्, उनले केवल आफ्नो परिवारलाई मात्र होइन, भविष्यको समाजलाई पनि आकार दिइरहेकी हुन्छिन्।
यस्ता महिलाहरूको जीवन सधैं सजिलो हुँदैन। कहिलेकाहीँ उनीहरूलाई पनि लाग्न सक्छ—सायद आफूले केही छुटाइरहेकी छन्। साथीहरू आफ्नो करियरमा अगाडि बढिरहेका हुन्छन्, नयाँ अवसरहरू पाइरहेका हुन्छन्। यस्तो बेला मनमा केही असन्तुष्टि वा प्रश्न उठ्नु स्वाभाविक हो।
तर समयसँगै धेरै महिलाहरूले एउटा गहिरो सत्य बुझ्ने गर्छन्—जीवनको मूल्य केवल बाहिरी उपलब्धिले मात्र निर्धारण हुँदैन। आफूले माया गरेका मानिसहरूको प्रगति, परिवारको स्थिरता र सन्तानको उज्ज्वल भविष्यमा पनि ठूलो उपलब्धि लुकेको हुन्छ।
एउटा सफल परिवार केवल महिलाको त्यागले मात्र बन्दैन, न त पुरुषको कमाइले मात्र। परिवार भनेको सहकार्य, सम्मान र समझदारीको साझा यात्रा हो। घरभित्रको जिम्मेवारी सम्हाल्ने महिलाको भूमिका जति महत्वपूर्ण छ, त्यत्तिकै महत्वपूर्ण त्यो भूमिकाको सम्मान गर्ने पुरुषको सोच पनि हो।
आज धेरै पुरुषहरू आफ्नो पेशागत जिम्मेवारी निभाउँदै समाज र राष्ट्रको सेवामा जुटिरहेका छन्। उनीहरूको सफलताका पछाडि घरलाई व्यवस्थित राख्ने, बालबच्चाको जिम्मेवारी सम्हाल्ने र परिवारलाई मानसिक रूपमा बलियो बनाइराख्ने जीवनसाथीको योगदान जोडिएको हुन्छ।
त्यसैले, घरभित्र समर्पित महिलाहरूको आत्मविश्वास र संवेदनशीलतालाई सम्मान गर्नु, उनीहरूको योगदानलाई कदर गर्नु र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्नु आजको समाजको महत्वपूर्ण दायित्व हो।
वास्तविक समानता भन्नाले सबैले एउटै काम गर्नु होइन। वास्तविक समानता भन्नाले एकअर्काको भूमिकाको सम्मान गर्नु हो। कोही कार्यस्थलमा बसेर जिम्मेवारी निर्वाह गर्छन्, कोही घरभित्र बसेर, कोही बाहिरी संस्थामा जुटी समानता गरिरहेका हुन्छन्। पारिवारिक दैनिक जीवनलाई सहज बनाउन दुवै भूमिकाको आवश्यकता हुन्छ। दुवै भूमिकाले समाजलाई सन्तुलित बनाउँछ।
नेपालको सामाजिक सन्दर्भमा परिवार अझै पनि बलियो संस्था हो। यही परिवारलाई बलियो बनाउनेमा महिलाहरूको आत्मा, भावना र ऊर्जा महत्वपूर्ण रहन्छ। उनीहरू समानताको मुख्य आधार हुन्। पारिवारिक मनोविज्ञानमा पनि देखिन्छ कि महिलाको योगदानले परिवारको सफलता सुनिश्चित गर्छ। त्यसैले महिलाको जिम्मेवारीलाई कहिल्यै समानताबाट अलग गर्न सकिँदैन।
नेपालमा 2022/2023 (Nepal Living Standards Survey IV) र पछिल्लो Central Bureau of Statistics का तथ्यांक अनुसार महिलाको रोजगारी दर प्रदेशअनुसार फरक देखिन्छ। देशभर महिलाको Labor Force Participation करिब 37 प्रतिशतदेखि 54 प्रतिशतबीच छ। तर सरकारी र निजी जागिरमा महिलाको सहभागिता अझै कम छ। महिलाहरूले अनौपचारिक क्षेत्रमा बढी काम गरिरहेका छन्।
सरकारी तथा निजी क्षेत्रले महिलालाई औपचारिक रोजगारीमा सहभागी गराउने अवसर बढाउनुपर्छ। महिलाको आर्थिक सशक्तीकरणले समाजमा समानता र विकास दुवैलाई गति दिन्छ।
अन्ततः घरपरिवारको श्रम अदृश्य भए पनि यसको प्रभाव अत्यन्त गहिरो हुन्छ। महिलाको मेहनतको मूल्य तलबको रूपमा नाप्न सकिँदैन, तर उनीहरूको योगदानले परिवार, समाज र राष्ट्रलाई सशक्त बनाउँछ। पारिवारिक भूमिकामा महिलाको सम्मान र पुरुषको सहकार्यले मात्र वास्तविक समानता सम्भव हुन्छ।












