
काठमाडौं, असोज ४ — “दिगो पर्यटनका लागि पथप्रदर्शकको दक्षता” भन्ने मूल नारासहित राजधानीमा १०औँ राष्ट्रिय टुरिस्ट गाइड सम्मेलन–२०८३ सम्पन्न भएको छ।

पर्यटन क्षेत्रसँग आबद्ध अग्रज, सहकर्मी तथा साथीहरूसँग एकै ठाउँमा भेटघाट, अनुभव साटासाट तथा विचार आदान–प्रदान गर्ने उद्देश्यले आयोजित सम्मेलनले पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई एकै मञ्चमा ल्याएको थियो।

बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका मन्त्री राजेन्द्र प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्यटनसँग सम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी, पर्यटनकर्मी तथा टुरगानका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सम्मेलनले टुरिस्ट गाइड केवल पर्यटकलाई गन्तव्यसम्म पुर्याउने व्यक्ति मात्र नभई नेपालको इतिहास, संस्कृति, प्रकृति, कला, परम्परा र मौलिक पहिचानलाई विश्वसामु परिचित गराउने महत्वपूर्ण पथप्रदर्शक तथा पर्यटनका वास्तविक दूत रहेको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

वर्षौँदेखि पर्यटकसँगै नेपालको हिमाल, पहाड, संस्कृति र सम्पदासम्म पुग्दै आएको यात्राको स्मरण गर्दै सहभागीहरूले आफ्नो पेशाप्रति थप गर्व र जिम्मेवारीबोध भएको बताएका छन्। यस्ता सम्मेलनले पर्यटन क्षेत्रलाई अझ व्यवस्थित, व्यावसायिक र गुणस्तरीय बनाउन नयाँ ऊर्जा, ज्ञान तथा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
सम्मेलनको सफल आयोजनाका लागि आयोजक टुरगानप्रति सहभागीहरूले आभार व्यक्त गर्दै सम्पूर्ण पर्यटनकर्मीहरूलाई शुभकामना दिएका छन्।
“हामी नेपाल चिनाऔँ, नेपालको पर्यटन प्रवर्द्धन गरौँ र दिगो पर्यटनको यात्रामा सँगसँगै अघि बढौँ” भन्ने सन्देशसहित सम्मेलन सम्पन्न भएको थियो।










