
रसुवा, असोज ५ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले भदौ १० गते आएको भीषण बाढी–पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिएको छ।

‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने सेवामूलक भावनालाई आत्मसात गर्दै डिस्ट्रिक्टले नुवाकोटको विदुर नगरपालिका–५ मा आश्रय लिइरहेका भोटेकोशी बाढीपीडित ३३ परिवारलाई किचन र्याक तथा सिरानी वितरण गरेको जनाएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लायन रोजिता बस्तीका अनुसार राहत वितरण कार्यक्रममा विभिन्न व्यक्ति तथा समूहको उल्लेखनीय सहयोग रहेको थियो। शान्ता पौडेलको टोली, छविलाल अधिकारी, अस्मिता अधिकारी, ललितमान तामाङ, विनोद कार्की तथा रवि मगरले सहयोग गरेका थिए। त्यसैगरी काठमाडौं काष्ठ व्यवसायी संघका उपाध्यक्ष शारदा बस्ती, सुनिता बस्ती, कृष्ण भट्ट र आस्था शाहीले समेत राहत सामग्री व्यवस्थापन तथा सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

बाढीपीडित परिवारका लागि सिरानी उपलब्ध गराएको जूजू इन्डस्ट्रिजप्रति आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।
डिस्ट्रिक्टले विपद्को कठिन घडीमा प्राप्त सहयोग, सद्भाव र सहकार्यले राहत वितरण कार्यलाई सफल बनाउन ठूलो योगदान पुगेको उल्लेख गर्दै सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ। बाढीबाट प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन यस्ता मानवीय सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले विपद् तथा मानवीय संकटका समयमा प्रभावित समुदायको साथमा उभिँदै सेवा गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको छ।











