
बागलुङ, असोज ५ — जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरखबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
बागलुङ बजारमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन तथा कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा योगेश भण्डारी, माया रोका, यमदीप पुन, सुरक्षा जिसी, यमकुमारी नेपाली र गोविन्दबहादुर थापा चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहनेछ।

अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अधिवेशन उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्णप्रसाद कँडेलले भलिबल बागलुङमा लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै जिल्लाका खेलाडीहरूले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म उत्कृष्ट क्षमता प्रदर्शन गरिरहेको बताए।

उनले भलिबल खेलको थप विकासका लागि संघ, खेलाडी, प्रशिक्षक तथा सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। विद्यालय तहबाटै खेल विकास, प्रतिभावान् खेलाडीको पहिचान तथा प्रशिक्षण, नियमित प्रतियोगिता आयोजना र दक्ष प्रशिक्षक उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो।
कँडेलले जिल्ला खेलकुद विकास समिति खेल संघहरूसँग सहकार्य, समन्वय र साझेदारी गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै सीमित स्रोतसाधनका बाबजुद खेल क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार, खेल संघ, विद्यालय, क्लब तथा खेलप्रेमीबीच एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बागलुङ भलिबल खेलाडी उत्पादनको उर्वर भूमि भएको बताउँदै यहाँका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको बताए।
सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसके पनि नेपाल भलिबल संघले आफ्नै स्रोतसाधन परिचालन गरी खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको गुरुङको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले समेत मन्तव्य व्यक्त गरेका थिए।
जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेशबहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष किशोर थापाको स्वागत मन्तव्य तथा महासचिव मनबहादुर पुनको सञ्चालनमा अधिवेशन सम्पन्न भएको थियो।










