बडिगाडमा भीषण हावाहुरी र असिनापानीको कहरदुई दर्जनभन्दा बढी घरमा क्षति, मकैबाली पूर्णरुपमा नष्ट

-


     रामप्रसाद घिमिरे     
     जेठ १२ गते २०८३ मा प्रकाशित


बागलुङ, जेठ १२

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा गएराति आएको भीषण हावाहुरी र असिनापानीसहितको वर्षाले ठूलो क्षति पुर्‍याएको छ। प्राकृतिक विपत्तिका कारण गाउँका दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको स्थानीयवासीले बताएका छन्।

विशेषगरी दाँग क्षेत्रमा आएको तीव्र हावाहुरीले घरका छाना उडाउनुका साथै भित्तामा चिरा पार्ने र विद्युत सेवा अवरुद्ध गराउने जस्ता समस्या निम्त्याएको हो। रातिको समयमा आएको विपत्तिपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए।

स्थानीयका अनुसार डेमबहादुर घिमिरे, डुकुराज घिमिरे, चेमकली घिमिरे, मनिषा घिमिरे, तारापति घिमिरे, भीमबहादुर रास्कोटी, कल्पना घिमिरे, देवीचन रास्कोटी, अमृत जिसी, सागर जिसी तथा अमरबहादुर पाइजालगायतका घरमा बढी क्षति पुगेको छ।

धेरै घरका जस्तापाता उडेको, गोठ तथा भण्डारण कक्षमा क्षति पुगेको र खाद्यान्नसमेत भिजेर नष्ट भएको बताइएको छ। विपत्तिपछि गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ भने कतिपय परिवार सुरक्षित स्थानतर्फ सर्न बाध्य भएका छन्। यद्यपि हालसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन्।

एकातिर घर तथा भौतिक संरचनामा क्षति पुगेको छ भने अर्कोतर्फ किसानले लगाएको मकैबाली असिनापानीले पूर्णरुपमा नष्ट गरेको छ। केही दिनअघिसम्म हरियाली देखिएको बारी अहिले उजाड बनेपछि किसान चिन्तित भएका छन्। वर्षदिनको आशा बोकेको मकैबाली एकै रातमा नष्ट भएपछि स्थानीय किसान भावुक बनेका छन्।

स्थानीय कृषकका अनुसार यस वर्ष राम्रो उत्पादन हुने अपेक्षा गरिएको मकैबाली असिनाले सखाप पारेपछि खाद्यान्न संकटको चिन्ता समेत बढेको छ।
“घर पनि बिग्रियो, बाली पनि सखाप भयो, अब कसरी वर्ष कटाउने भन्ने चिन्ता थपिएको छ,” एक पीडित किसानले दुखेसो पोखेका छन्।

बडिगाड गाउँपालिका–५ का वडा अध्यक्षसहितको प्रहरी टोलीले क्षतिको विवरण संकलन सुरु गरेको जनाइएको छ। प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न स्थानीयले माग गरेका छन्।

प्राकृतिक विपत्तिले फेरि एकपटक ग्रामीण भेगका नागरिक कति असुरक्षित अवस्थामा बाँचिरहेका छन् भन्ने यथार्थ उजागर गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ। हाल प्रभावित क्षेत्रमा क्षतिको यथार्थ विवरण संकलन तथा राहत वितरणको तयारी भइरहेको बताइएको छ।