बलिराम चौहानले गरे नयाँ चलचित्र निर्माणको घोषणा‘ल्याङ्ग ल्याङ्ग’ निर्देशन गर्दै बलिराम चौहान

-


     हिड्न खबरदाता     
     जेठ ११ गते २०८३ मा प्रकाशित


काठमाडौं । निर्देशक बलिराम चौहान ले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गत वर्ष चलचित्र The Blue Light निर्देशन गरेका चौहानले अब नयाँ चलचित्र ल्याङ्ग ल्याङ्ग निर्माण गर्ने भएका हुन् ।

निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल सार्वजनिक गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको औपचारिक घोषणा गरेका हुन् । स्काइफल पिक्चर्स को प्रस्तुतिमा निर्माण हुने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसबाट चलचित्रले युवा पुस्ताको कथा प्रस्तुत गर्ने संकेत गरेको छ ।

‘ल्याङ्ग ल्याङ्ग’ शब्द युवा पुस्ताले साथीभाइबीच प्रायः प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’, एउटै विषयमा पटक–पटक दबाब दिने वा तनाव सिर्जना गर्ने अवस्थासँग सम्बन्धित छ ।

निर्देशक चौहानले सार्वजनिक गरेको थिम पोस्टरमा ‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनका लागि यति मात्र हो’ भन्ने वाक्य समावेश गरिएको छ । पोस्टरमा सहरको पार्कमा राखिएको झोला, हेडसेट, बाफ उडिरहेको कफी, डायरी, पेन, जिन्सको आउटर, कालो चस्मा, अलपत्र परेको बुके तथा ‘गुड भाइब्स’ लेखिएको स्टिकर देखाइएको छ ।

यी दृश्यहरूले अचानक प्रेममा धोका पाएको एक प्रेमीको मनोविज्ञान र तनावपूर्ण अवस्थाको कथा चलचित्रले प्रस्तुत गर्ने संकेत गरेका छन् ।

उक्त चलचित्रको कथा बलिराम चौहान र उपश्री खतिवडा ले संयुक्त रूपमा लेखेका हुन् । कलाकार, प्राविधिक टोली, छायांकन र प्रदर्शन मितिबारे भने निर्माण टिमले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।

गत वर्ष प्रदर्शनमा आएको निर्देशक चौहानको चलचित्र The Blue Light ले सकारात्मक समीक्षा पाएको थियो । तर निर्वाचनको माहोलका कारण चलचित्र प्रदर्शनको तेस्रो दिनमै निर्माण टिमले हलबाट उतारेको थियो