सविन श्रेष्ठको गीत ‘कल्पना’ सार्वजनिक

-


     हिडन खबर    
     जेठ ११ गते २०८३ मा प्रकाशित


काठमाडौं । गायक सविन श्रेष्ठ को नयाँ गीत ‘कल्पना’ सार्वजनिक भएको छ । आइतबार २९ रिसोर्ट एन्ड फार्म हाउसमा आयोजित कार्यक्रममा गीतको प्रिमियर गर्दै सार्वजनिक गरिएको हो ।

गीतमा स्वर, शब्द तथा संगीत स्वयं सविन श्रेष्ठकै रहेको छ । गीतले बितिसकेको प्रेमको सम्झना र त्यससँग जोडिएको भावनात्मक नोस्टाल्जियालाई प्रस्तुत गरेको छ । पुरानो मायालाई सम्झिँदै विगतका अनुभूति र सम्बन्धका भावनालाई गीतमार्फत व्यक्त गरिएको छ ।

गीतका शब्दमा प्रेमिकाले सम्बन्ध त्यागेर गए पनि आफूले प्रेमलाई अझै निश्चल, पवित्र र चोखो रूपमा सम्झिरहेको भाव प्रस्तुत गरिएको छ । पुराना योजना र कल्पनालाई अझै पनि जीवित राख्दै मायाको स्मृतिमा हराइरहेको प्रेमीको मनोदशा गीतले चित्रण गरेको छ । साथै, गीतले आफ्नो प्रेमलाई बुझेर पुनः फर्किन आग्रह गर्ने भावसमेत बोकेको छ ।

प्रिमियर कार्यक्रममा सविन श्रेष्ठले आफ्ना गीत केवल लयबद्ध शब्द नभई मनका गहिरा भावना भएको बताए । जीवनको लय परिवर्तन भएपछि आफूले गीतमार्फत पीडा, उदासीनता र निराशा व्यक्त गर्ने गरेको उनले बताए ।

“यी गीतहरू मेरो इच्छाशक्तिका कारण जन्मिएका हुन् । यदि मलाई हौसला दिने हात र साथ नपाएको भए यी सिर्जना सम्भव हुने थिएनन्,” सविनले भने, “मेरो दुर्घटनापछि एक्लोपन र तनावका बीच कसैसँग भावना साट्न नसकेका बेला मनका कुरा गीतमार्फत व्यक्त गरेको हुँ ।”

कार्यक्रममा म्युजिक भिडियोका मोडल सुजन जिम्बा ले सविनलाई प्रेरणा र हौसलाको स्रोतका रूपमा प्रस्तुत गरे । उनले सविनको इच्छाशक्ति र सिर्जनशीलताबाट आफू पनि प्रभावित भएको बताए ।त्यसैगरी अभिनेता मुकुन भुसाल ले सविनको सांगीतिक यात्रामा प्रत्यक्ष सहकार्य गर्न आफू सधैँ तयार रहेको बताए ।

‘कल्पना’ म्युजिक भिडियोका निर्देशक तथा कलाकार सम्राट अधिकारी ले सविनको भावनालाई
भिडियोमार्फत पर्दामा उतार्ने प्रयास गरिएको बताए ।

,, दिमेश श्रेष्ठले निर्माण गरेको भिडियो कथा क्रिएसनले तयार पारेको हो । भिडियोमा सुजन जिम्बा, सृष्टि सुब्बा र सम्राट अधिकारीको अभिनय रहेको छ । भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन् । भिडियो नुजा पिक्चर्सको प्रस्तुति हो l
https://youtu.be/L4n3Bz-iTTQ?si=k0uGbrPNVFa90YQx