स्याङ्जाकी बत्ति कुमारी थापा बनिन् ‘दोस्रो गण्डकी लोक तारा’

-


     हिडन खबर    
     जेठ ९ गते २०८३ मा प्रकाशित


कास्की ,जेठ ९

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको आयोजनामा सम्पन्न ‘दोस्रो गण्डकी लोक तारा’ प्रतियोगिताको उपाधि स्याङ्जाकी प्रतिभाशाली गायिका बत्ति कुमारी थापाले जितेकी छन्।

लोकदोहोरी क्षेत्रका विभिन्न प्रतिभाबीच प्रतिस्पर्धा भएको प्रतियोगितामा लमजुङका युगेश परियार द्वितीय तथा बागलुङकी ललिता घर्ती मगर तृतीय हुन सफल भएका छन्।

गण्डकी प्रदेशभरका प्रतिभाशाली कलाकारहरूको सहभागिता रहेको उक्त प्रतियोगिताले लोकदोहोरी गीत–संगीतको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

विजेता बत्ति कुमारी थापाले मधुर स्वर, मौलिक प्रस्तुति र उत्कृष्ट मञ्च प्रस्तुतिमार्फत दर्शक तथा निर्णायकहरूको मन जित्दै उपाधि हात पार्न सफल भएकी हुन्। त्यसैगरी, युगेश परियार र ललिता घर्ती मगरले पनि प्रभावशाली प्रस्तुति दिँदै लोकसंगीत क्षेत्रमा उज्ज्वल भविष्यको संकेत गरेका छन्।

प्रतियोगिताको सफल आयोजनासँगै गण्डकी प्रदेशमा लोकदोहोरी गीत–संगीतप्रतिको आकर्षण अझ बढेको सहभागी कलाकारहरूले बताएका छन्। साथै, विजेता तथा सहभागी सम्पूर्ण कलाकारहरूलाई बधाई तथा आगामी सांगीतिक यात्राको सफलताको शुभकामना व्यक्त गरिएको छ।