नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन जेठ ८ गते

-


     हिडन खबर    
     जेठ ८ गते २०८३ मा प्रकाशित


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । महासंघको कार्यकारिणी समितिको दोस्रो बैठकबाट निर्णय गर्दै निर्वाचन तालिका सार्वजनिक गरिएको हो ।

महासंघले जारी गरेको सूचनाअनुसार जेठ ८ गते महासंघ सचिवालय, बैठक बस्ने कार्यक्रम अनुसार निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । सो दिन अपराह्न १ बजेदेखि मतदाता नामावली प्रकाशन गरिनेछ भने दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम नामावली सार्वजनिक गरिने जनाइएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार अपराह्न १ः२० बजेदेखि १ः४५ बजेसम्म मनोनयन पत्र दर्ता गरिनेछ । उम्मेदवारको नामावली प्रकाशनपछि दाबी–विरोधको समय दिइनेछ भने अन्तिम नामावली अपराह्न ४ः१५ बजे सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।

यसैगरी, अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म मतदान हुने र मतदान सकिएलगत्तै मतगणना गरी परिणाम घोषणा गरिने सूचनामा उल्लेख छ ।

महासंघले विधानअनुसार योग्यता पुगेका कार्यकारिणी समिति सदस्यहरूलाई तोकिएको समयमा उम्मेदवारी दर्ता गर्न आग्रह गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ र कोषाध्यक्ष पदका लागि ३ लाख रुपैयाँ मनोनयन शुल्क तोकिएको सूचनामा जनाइएको छ ।

कार्यक्रम समय आवश्यकताअनुसार परिवर्तन हुन सक्ने महासंघले जनाएको छ ।