‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध

-


     हिडन खबर    
     वैशाख १८ गते २०८३ मा प्रकाशित


काठमाडौं । निर्माणाधीन चलचित्र ‘महाराजधिराज’मा अभिनेता सुशील सिटौला अनुबन्ध भएका छन्। केही दिनअघि अभिनेत्री पूजा शर्मालाई अनुबन्ध गरेको निर्माण टिमले आज अर्का कुशल अभिनेता सिटौलालाई पनि औपचारिक रूपमा अनुबन्ध गरेको हो।

निर्माण टिमका अनुसार, सुशील सिटौला चलचित्रमा प्रमुख भूमिकामध्ये एकमा देखिनेछन्। उनी नेपाली चलचित्र उद्योगका एक प्रतिभाशाली तर अपेक्षाकृत कम मूल्याङ्कन गरिएका अभिनेता मानिन्छन्।

चलचित्रका लागि कलाकार अनुबन्ध गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, जससँगै यसको कलाकार सूची थप सशक्त बन्दै गएको छ। यसअघि नै मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्ध भइसकेका छन्।
पिरियड ड्रामाको झल्को दिने यो चलचित्र वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा रहेको छ।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ।निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’ मानिएको

‘महाराजधिराज’मा अन्य करिब ८० जना कलाकारको सहभागिता रहनेछ। पुराना र नयाँ पुस्ताका कलाकारहरूको समिश्रण प्रस्तुत गर्ने उद्देश्यले बलियो स्टारकास्ट तयार पारिएको निर्माण टिमले जनाएको छ।

चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले कलाकारहरूको बलियो लाइनअप अनुसार चलचित्र पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गरेका छन्।

यस चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा रमणीय स्थानहरूमा छायांकन गरिनेछ। चलचित्रका छायांकन निर्देशक (डिओपी) नवराज थापा रहेका छन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा/पटकथा निर्देशक सेन स्वयंले लेखेका हुन्।

चलचित्रका निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्। ‘महाराजधिराज’ आगामी फूलपातीको अवसरमा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण टिमले जनाएको छ।