
पोखरा। लोकसंगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा वडास्तरीय खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ।
मानवसेवा आश्रमको व्यवस्थापनमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिता राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपाल केन्द्रीय समिति, कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको हो।
प्रतियोगिता २०८३ वैशाख २० गतेदेखि २६ गतेसम्म मानवसेवा आश्रम, पोखरा–२५, हेम्जामा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागिता जनाउन इच्छुक समूहहरूले वैशाख १९ गतेभित्र टोली दर्ता गरिसक्नुपर्नेछ। कार्यक्रम दैनिक बिहान ९:०० बजेदेखि साँझ ४:३० बजेसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतियोगितामा वडास्तरका विभिन्न भजन समूहहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागीहरूले आफ्नो भक्ति, कला र सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन मात्र नभई आध्यात्मिक अनुभूति दिलाउने आयोजकको विश्वास रहेको छ।
उत्कृष्ट प्रदर्शन गर्ने समूह तथा व्यक्तिलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। प्रथम पुरस्कार ५५,५५५ रुपैयाँ, द्वितीय पुरस्कार ३३,३३३ रुपैयाँ र तृतीय पुरस्कार २२,२२२ रुपैयाँ निर्धारण गरिएको छ। साथै उत्कृष्ट भेषभूषा, स्वर, मौलिक प्रस्तुति, झाँकी र नृत्यतर्फ पनि जनही ५,५५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सहभागी सबै समूहलाई प्रोत्साहनस्वरूप २,००० रुपैयाँ सहभागिता पुरस्कारसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
हरेक सहभागी समूहलाई पुरस्कार प्रदान गरिनेछ भने प्रत्येक समूहमा कम्तीमा १० जना सदस्य अनिवार्य हुनेछन्। आवश्यक बाजागाजा तथा सामग्री सहभागी टोलीले आफैं व्यवस्थापन गर्नुपर्नेछ।
लोक भजन चुड्काजस्ता मौलिक सांस्कृतिक धरोहरको जगेर्ना गर्दै नयाँ पुस्तामा यसको महत्व स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामार्फत सामाजिक सद्भाव, सांस्कृतिक चेतना र सामूहिक सहभागितालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।












