माछापुच्छ्रे गाउँपालिकाका लागत साझेदारी योजनाको अनुगमन

-


     हिडन खबर    
     वैशाख १७ गते २०८३ मा प्रकाशित


पोखरा, १७ वैशाख

जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकामा सञ्चालनमा रहेका लागत साझेदारीका योजनाहरूको अनुगमन गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा गाउँपालिकासँगको सहकार्यमा विभिन्न शीर्षकमा विनियोजित बजेटअन्तर्गत निर्माणाधीन योजनाहरूको अनुगमन गरिएको जिल्ला समन्वय समिति कास्कीले जनाएको छ।

अनुगमन गरिएका योजनाहरूमा माछापुच्छ्रे गाउँपालिका–६ स्थित वडा कार्यालयको मर्मतसम्भार तथा कम्पाउण्ड निर्माण, बराह माध्यमिक विद्यालय भेडाबारीमा स्टेज निर्माण, कैलाश माध्यमिक विद्यालयमा पर्खाल निर्माण, वडा नं. ४ मा वडा कार्यालय तथा स्वास्थ्यचौकी मर्मतसम्भार, वडा नं. ३ स्थित शुक्लागण्डकी माध्यमिक विद्यालयको सभाहल निर्माण, मेघराज आधारभूत विद्यालयको सभाहल निर्माण, वडा नं. ५ मा निष्पक्ष माध्यमिक विद्यालयको सभाहल निर्माण तथा वडा नं. ८ स्थित तारे बराह आधारभूत विद्यालय भवन निर्माण योजना रहेका छन्।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले विनियोजित बजेट र निर्धारित मापदण्डअनुसार गुणस्तरीय कार्य गर्न आग्रह गर्नुभयो।

उहाँले केही योजनामा देखिएका कमजोरी तत्काल सच्याउन निर्देशन दिँदै निर्माण कार्य प्रभावकारी रूपमा निर्धारित समयभित्र सम्पन्न गर्न निर्माण कम्पनी, साझेदार पालिका तथा सरोकारवालालाई सचेत रहन आग्रह गर्नुभयो।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति कास्कीका सदस्यद्वय सुकमाया नेपाली र लक्ष्मी दमई, जिल्ला समन्वय अधिकारी नवराज बराल, इन्जिनियर, प्राविधिक कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।