चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको प्रवेश

-


     हिडन खबर    
     वैशाख ६ गते २०८३ मा प्रकाशित


काठमाडौं, वैशाख ६

निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री पूजा शर्माको प्रवेश भएको छ। निर्माण पक्षले उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिएको छ।

केकी अधिकारीपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि बनाएकी पूजा शर्मालाई भित्र्याएको हो। यसै साता अभिनेता हेमन्त बुढाथोकी पनि अनुबन्ध भएका छन्। कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दै गर्दा चलचित्रको लाइनअप थप बलियो बन्दै गएको छ।

यसअघि नयाँ वर्षको अवसर पारेर अभिनेता पुष्प खड्का मुख्य भूमिकामा अनुबन्धित भएका थिए। सो अवसरमा निर्माण पक्षले चलचित्रको पोस्टर समेत सार्वजनिक गरेको थियो।

पिरियड ड्रामाको झल्को दिने यो चलचित्र यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ। परिच्छेद सेनको निर्देशनमा बन्ने यस चलचित्रमा पुष्प, पूजा र केकीसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कलाकार रहनेछन्।

निर्देशक सेनको ‘ड्रिम प्रोजेक्ट’ मानिएको ‘महाराजधिराज’मा करिब ८० जना कलाकार रहनेछन्। पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन निर्माण टिमले स्टारकास्टलाई अनुबन्ध गरेको हो।

चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले बलियो कलाकार लाइनअपका कारण चलचित्र पनि बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।

छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु भई काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा हुनेछ। नवराज थापाले चलचित्रलाई क्यामरामा कैद गर्नेछन्।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ। निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्।

निर्माण टिमका अनुसार ‘महाराजधिराज’लाई आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।