
ललितपुर, चैत २१
ललितपुरमा महिलाद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कार्यक्रम सम्पन्न भएको छ।
स्यस्य समाज यल, केन्द्र तथा इलाका नं. २ मिसा पुचःको संयुक्त आयोजनामा शनिबार ललितपुरको भीमसेनस्थान, मंगलबजारमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

प्रदर्शनीमा स्थानीय महिलाहरूले उत्पादन गरेका हस्तकला, घरेलु सामग्री, कपडा, सजावटी वस्तु लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीमा राखिएका थिए।
स्यस्य समाज यलका अध्यक्ष बद्री लक्ष्मी श्रेष्ठले महिलाहरूले उत्पादन गरेका सामग्रीलाई बजारसम्म पुर्याउने, उनीहरूको सीपलाई प्रोत्साहन गर्ने तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्यले यस्ता कार्यक्रमले महिलाहरूलाई उद्यमशीलतामा आकर्षित गर्नुका साथै समाजमा महिला नेतृत्व र सहभागिता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउँदै महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी महिला उद्यमी तृष्णा राजभण्डारीले आफ्ना उत्पादनहरू प्रदर्शन गर्ने अवसर प्राप्त हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्। उनले यस्ता कार्यक्रमले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने उल्लेख गरिन्।
आयोजकका अनुसार, प्रदर्शनीले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सहयोग गर्नुका साथै महिलाको आर्थिक सशक्तीकरणमा समेत सकारात्मक योगदान पुर्याएको छ।

कार्यक्रमको व्यवस्थापन स्वस्थ समाज यल, इलाका नं. २ मंगलबजारले गरेको थियो भने आयोजनामा स्यस्य समाज यल केन्द्र तथा इलाका नं. २ मिसा पुचःको सक्रिय सहभागिता रहेको थियो।
स्थानीय वडाले महिला उद्यमीलाई टेवा पुर्याउने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। वडा कार्यालयले समाजका लागि एक लाख रुपैयाँ बराबरका ११ वटा टेबल र ४५ वटा प्लास्टिक कुर्सी सहयोग गरेको जनाएको छ।
कार्यक्रममा ११ वटा स्टल राखिएको थियो, जहाँ महिलाहरूले दैनिक उपभोग्य घरेलु सामग्री तथा नेवारी परिकारहरू प्रदर्शन तथा बिक्री गरेका थिए।















