लेउवा संघमा रोजगारी अवसरका लागि अन्तरक्रिया

-


     हिडन खबर    
     चैत्र १९ गते २०८२ मा प्रकाशित


लेखनाथ, १८ चैत्र – लेखनाथ उद्योग वाणिज्य संघमा रोजगारीका अवसर र पूर्वसिकाइको मान्यता विषयमा स्नातक विद्यार्थी तथा रोजगारदाताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

औपचारिक शिक्षा हासिल नगरे पनि कार्यअनुभवका कारण सिप र दक्षता भएका व्यक्तिहरूलाई रोजगारीको क्षेत्रमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा स्वागत गर्दै संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले हातमा सिप भएर पनि राज्यका सेवा–सुविधाबाट बञ्चित व्यक्तिहरूका लागि कार्यक्रम फलदायी हुने बताउँदै यसबाट उद्योगी व्यवसायीहरू समेत लाभान्वित हुने उल्लेख गरिन्।

सो अवसरमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उप–सचिव तोयानाथ लम्सालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको नीतिगत व्यवस्था, सिप परीक्षणका लागि तीन तहका सरकारले गर्न सक्ने काम तथा प्रदेशमा पूर्वसिकाइको मान्यताको आधारमा सिप परीक्षणको अवस्थाबारे प्रस्तुति दिए।

उनले प्रदेशमा सिप परीक्षण गरेर दक्षताको प्रमाणपत्र लिनेहरूको संख्या आ.व. २०७९/०८० मा १३३ जना, आ.व. २०८०/०८१ मा १९४ जना र आ.व. २०८१/०८२ मा ३४९ जना रहेको जानकारी दिए।

त्यस्तै नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना गण्डकी प्रदेशका प्रबन्धक चन्द्रप्रसाद तिमिल्सिनाले राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीको सान्दर्भिकता विषयमा प्रशिक्षण दिए भने पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका नवराज अधिकारीले सिप परीक्षण उत्तीर्ण व्यक्तिहरू र रोजगारदाताका लागि अवसरबारे प्रशिक्षण दिए।

संघका पूर्वअध्यक्ष चतुराखर अधिकारीले कार्यक्रम समयानुकूल एवं महत्वपूर्ण रहेको बताउँदै यसले राज्य, निजी क्षेत्र तथा सिप र दक्षता भएर पनि अवसर पाउन नसकेका व्यक्तिहरूलाई लाभदायी हुने धारणा व्यक्त गरे।

संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले बजारको आवश्यकता र सम्भावनालाई मध्यनजर गरेर तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै त्यसो गर्न नसके अस्वस्थ प्रतिस्पर्धा जस्ता दुष्परिणाम निम्तिन सक्ने चेतावनी दिए।

कार्यक्रम संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यसमिति सदस्य बिरेन्द्रराज भुर्तेलले गरेका थिए।