
बागलुङ, चैत १७
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन भएका छन्।
महासंघको यही चैत २० गते हुने चौथो महाधिवेशनबाट नेतृत्व चयन हुने क्रममा कँडेलसँगै अध्यक्ष पदका उम्मेदवार रहेका हालका कोषाध्यक्ष तथा स्याङ्जा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएपछि कँडेल सर्वसम्मत भएका हुन्।
कार्यसमितिले चैत २० गते हुने नवौं गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनमा निर्वाचित पदाधिकारीहरूले प्रमाणपत्र प्राप्त गर्ने जनाएको छ।
अधिवेशनमा जिल्ला/नगर उद्योग वाणिज्य संघबाट २५, एसोसियट सदस्य १०२ र वस्तुगत संघका १७ प्रतिनिधि गरी कुल १४४ प्रतिनिधि सहभागी हुनेछन्।
जिल्ला/नगर उपाध्यक्षमा योगेन्द्र घिमिरे, एसोसियट उपाध्यक्षमा सूर्यबहादुर भुजेल, वस्तुगत उपाध्यक्षमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र ओझा सर्वसम्मत चयन भएका छन्।
लामो समयदेखि उद्योग वाणिज्य क्षेत्रमा सक्रिय कँडेलले बागलुङ उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले ३ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्दै संस्थालाई प्रभावकारी नेतृत्व प्रदान गरेका थिए। २०६५ सालमा साधारण सदस्यबाट यात्रा सुरु गरेका कँडेल २०६६–०६९ र २०६९–२०७२ सम्म दुई कार्यकाल कार्यसमिति सदस्य, २०७२–२०७५ मा द्वितीय उपाध्यक्ष, २०७५–२०७८ मा महासचिव र २०७८–२०८१ सम्म अध्यक्ष भएका थिए। हाल उनी उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य पनि हुन्।
उनका अनुसार युवाको नेतृत्व आजको आवश्यकता भएकाले समृद्ध गण्डकी प्रदेश निर्माणका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने, जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसियट सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याइनेछ।
साथै, प्रदेशको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी बनाउँदै व्यवसायमैत्री वातावरण निर्माणमा पहल गर्ने उनको एजेन्डा रहेको छ।












