झापामा पहिलो पटक ‘आमा सेमिनार’ आयोजना हुँदै

-


     हिडन खबर    
     चैत्र १२ गते २०८२ मा प्रकाशित


झापा । मानवसेवा आश्रमले झापामा पहिलो पटक ‘आमा सेमिनार’ आयोजना गर्ने भएको छ। चैत १७ र १८ गते झापाका विभिन्न स्थानमा हुने सेमिनारबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरिएको हो।

आश्रमले चैत १७ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म कन्काई नगरपालिका–३, सुरुङ्गास्थित कन्काई उद्योग वाणिज्य संघको सभाहलमा सेमिनार सञ्चालन गर्ने जनाएको छ।

त्यसैगरी, चैत १८ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित मेची सामुदायिक हलमा विद्यार्थी लक्षित कार्यक्रम आयोजना गरिनेछ। सोही दिन बिहान ११ बजेदेखि १ बजेसम्म त्यही स्थानमा अन्य समुदायलाई लक्षित सेमिनार सञ्चालन हुनेछ।

त्यस्तै, चैत १८ गते नै दिउँसो ४ बजेदेखि ५ बजेसम्म मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक हलमा विभिन्न समूहलाई लक्षित गरी सेमिनार कार्यक्रम तय गरिएको छ।

आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको सहजीकरणमा सञ्चालन हुने सेमिनारमार्फत आमाको वात्सल्य प्रेमको महिमा, पारिवारिक सम्बन्ध, सामाजिक जिम्मेवारी तथा मानवीय संवेदनशीलताबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। आश्रमले स्थापना कालदेखि नै यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै मानवता प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आएको छ।