
जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको दोस्रो चैत्राष्टमी (चैते दशैं) मेला–२०२६ टोकियोमा सफलतापूर्वक सम्पन्न भएको छ।
बागलुङ समाज जापानको मूल आयोजनामा दुई दिनसम्म चलेको मेलाले धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको कार्यक्रमको रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति परिचित गराउने उद्देश्यसहित मेला सम्पन्न गरिएको हो।

मेलामा उल्लेखनीय संख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो। विभिन्न सांस्कृतिक कार्यक्रम, लोकदोहोरी प्रस्तुतिहरू, परम्परागत खेलकुद तथा नेपाली परिकारहरूले मेलाको आकर्षण बढाएका थिए। नेपालबाट आमन्त्रित कलाकारहरूको प्रस्तुति तथा स्थानीय कलाकारहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।

मेला स्थलमा निर्माण गरिएको बागलुङ कालिका मन्दिरको प्रतिकृति तथा बाघको शालिकले दर्शकहरूको विशेष ध्यान आकर्षित गरेको थियो। नेपाली कला, संस्कृति, भेषभूषा तथा परम्परागत झाँकीहरूले मेलाको शोभा बढाएका थिए।

‘बागलुङ रत्न सम्मान’ गायक सूर्य खड्कालाई
जापानमा रहेर नेपाली लोकदोहोरी क्षेत्रमा योगदान पुर्याएको भन्दै लोक तथा दोहोरी गायक सूर्य खड्कालाई ‘बागलुङ रत्न सम्मान’ प्रदान गरिएको छ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–धम्जाका स्थायी बासिन्दा खड्कालाई जापानमा रहेर नेपाली लोकदोहोरी गीतसंगीतको संरक्षण, प्रवर्द्धन र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।
विशेष समारोहमा उनलाई दोसल्ला ओढाएर, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थित दर्शक तथा अतिथिहरूले खड्काको योगदानको प्रशंसा गरेका थिए।
आयोजकका अनुसार ‘बागलुङ रत्न सम्मान’ मार्फत जिल्लाबाट उत्पत्ति भई विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।














