
बागलुङ, ७ चैत – नेवारी समुदायका महिलाहरूको संगठन नेवा मिसा दबु बागलुङको नवौं साधारण सभा तथा तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ।
अधिवेशनले अर्चना पालिखेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि सर्वसम्मत निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा तारामाया श्रेष्ठ, सचिवमा सोमिका राजभण्डारी, सहसचिवमा रमा श्रेष्ठ र कोषाध्यक्षमा सपना श्रेष्ठ चयन भएका छन्।
सदस्यहरूमा सुनयना राजभण्डारी, प्रनोस्वरी श्रेष्ठ, निरञ्जन श्रेष्ठ, मुना शाक्य, दिव्यलक्ष्मी राजभण्डारी, नारायणदेवी राजभण्डारी, साधना राजभण्डारी र रेनुका राजभण्डारी रहेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै नेवा मिसा दबुको केन्द्रीय सदस्य अर्पना श्रेष्ठले पहिचान र अस्तित्वको लडाइँका लागि नेवारी समुदायका महिलाहरू पनि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले महिला सशक्तीकरण र जागरणका लागि नेवारी समुदायका महिलाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा नेपाल भाषा मंका खलका अध्यक्ष जयराम भाली, वरिष्ठ अभियन्ता काजिगाउँले श्रेष्ठ, नेवा मिसा दबुका सल्लाहकार मुकुन्द शाक्य, रतन मल्लपाती, गण्डकी प्रदेश सचिव लक्ष्मी शाक्य र पत्रकार कोपिला कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अर्चना पालिखेले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रम नेवा मिसा दबुका अध्यक्ष सोमना शाक्यको अध्यक्षता, नगर समितिका अध्यक्ष सिर्जना श्रेष्ठको स्वागत र सचिव अर्चना पालिखेको सञ्चालनमा सम्पन्न भएको थियो।













