लेखनाथ उद्योग बाणिज्यसंघमा ३ महिने प्लम्बिङ तालिम

-


     हिड्न खबरदाता     
     चैत्र ३ गते २०८२ मा प्रकाशित


लेखनाथ, चैत्र ३

लेखनाथ उद्योग वाणिज्य संघमा ३ महिने प्लम्बिङ तालिम सोमबारदेखि सुरु भएको छ। व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिम सञ्चालन गरिएको हो।

उद्घाटन समारोहमा संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले युवालाई स्वरोजगार, उद्यमशीलता र आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताइन्। उनले स्वदेशमै केही गर्न चाहने वा विदेश जाने इच्छुक युवाका लागि पनि यस किसिमका तालिम उपयोगी हुने उल्लेख गरिन्। पहिलो चरणको तालिम पूरा गरेका सहभागीलाई आवश्यक परे ‘एड्भान्स्ड’ तालिम दिने योजना रहेको समेत जानकारी दिइन्।

उनले तालिममा राज्य र निजी क्षेत्रको समेत लगानी रहेको बताउँदै यसको सदुपयोग गर्न सहभागीलाई लगनशील भएर सिप सिक्न आग्रह गरिन्।

कार्यक्रममा व्यवसायिक तथा सिप विकास तालिम केन्द्र पोखराका कार्यालय प्रमुख अनिल सुवेदीले दक्षता हासिल गरेपछि स्वदेशमै स्वरोजगार भई उद्यमी बन्न सकिने भएकाले सहभागीलाई व्यवसायिक सोचका साथ तालिम लिन सुझाव दिए।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठले संघले विगतदेखि नै विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै सिकेको सिपलाई व्यवहारमा सदुपयोग भए नभएको संघले अनुगमन गर्ने बताए। दक्ष व्यक्तिहरू बेरोजगार रहेको अवस्थामा रोजगारी दिलाउने विषयमा पनि संघले सहयोग गर्ने जानकारी दिए।

संघका पूर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले तालिमले व्यक्तिलाई सिर्जनशील, रोजगारमुखी र क्रियाशील बनाउने भन्दै सक्रियताका साथ तालिम लिन सहभागीलाई आग्रह गरे।

कार्यक्रम संघकी अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए।