
बागलुङ । छिमेकी पालिका ढाेरपाटन नगरपालिकामा दादुरा जस्तो संक्रामक रोग फैलिँदै गएको सन्दर्भमा निसिखोला गाउँपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार दादुरा महामारीका कारण मानवीय जीवनमा गम्भीर असर परिरहेको छ। यस रोग निसिखोला गाउँपालिकामा समेत विभिन्न माध्यमबाट फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै पूर्वसतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
यसै क्रममा गाउँपालिकाले दादुरा महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म कुनै पनि प्रकारका मेला, महोत्सव तथा भीडभाड हुने कार्यक्रम नगर्न सम्पूर्ण स्थानीयवासीमा निसीखाेला गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत जीवन पुनमगरले अनुरोध गरेको छ।
साथै, नागरिकलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडबाट टाढा रहन र आवश्यक स्वास्थ्य सावधानी अपनाउन समेत आग्रह गरिएको छ।









