ऐतिहासिक चैत्राष्टमी मेलामा हनुमान नाच प्रदर्शन गरिने

-


     हिड्न खबरदाता     
     चैत्र २ गते २०८२ मा प्रकाशित



बागलुङ, चैत २

यस वर्षको ऐतिहासिक चैत्राष्टमी मेलामा हनुमान नाच प्रदर्शन गरिने भएको छ। कालिका भगवती गुठी व्यवस्थापन समितिको मूल आयोजनामा चैत १० देखि १४ गतेसम्म सञ्चालन हुने मेलाको अवसरमा बागलुङको ऐतिहासिक हनुमान नाच प्रदर्शन गरिने भएको हो।
झण्डै तीन सय वर्षअघिदेखि यहाँका नेवार समुदायले यो नाच देखाउँदै आएको इतिहास रहेको छ।

नेपालबाटै लोप हुन लागेको हनुमान नाच बागलुङमै आएर अवलोकन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि नेवार समुदायसँगको समन्वयमा नाच प्रदर्शनको तयारी गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताउनुभयो।

स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले हनुमान नाच प्रदर्शन गर्न लागिएको खड्काले जानकारी दिनुभयो। हनुमानको भेषमा सजिएका युवाहरू १० तालको सुरुवातमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झण्डै तीन सय वर्षदेखि जोगाउँदै आएका छन्।

नाच प्रस्तुत गर्ने कलाकारहरू हनुमानको स्वरूपमा उत्रिने गर्छन् भने विभिन्न तालमा बाजा बज्दा अन्य सहभागीहरूको शरीरमा पनि कम्पन हुने विश्वास गरिन्छ।