
बागलुङमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूले उपभोक्ताको अधिकार, खाद्य स्वच्छता तथा उपभोग्य वस्तुको गुणस्तरबारे उपभोक्ता र व्यवसायी दुवै सचेत हुनुपर्ने आवश्यकता औंल्याएका छन्।
बागलुङको एकीकृत सेवा कार्यालयको आयोजनामा आइतबार भएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले गुणस्तर मापन यन्त्र र खाद्य प्रयोगशालाको अभावमा अनुमानका आधारमा मात्र अनुगमन भइरहेको बताउनुभयो। उहाँले तेल, दूध, मासु र तरकारीजस्ता खाद्य वस्तु हेरेर मात्र गुणस्तर मापन गर्न नसकिने स्पष्ट पार्नुभयो।
कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले गर्नुभएको थियो। उहाँले उपभोक्ता र व्यापारी दुवै सचेत हुनुपर्नेमा जोड दिनुभयो।
सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले उपभोक्ताको हितमा कानुन परिमार्जन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले उपभोक्ता अधिकारको संरक्षणमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रतिनिधि, प्रहरी तथा पत्रकारबीच अन्तरक्रिया भएको थियो।
कार्यक्रम एकीकृत सेवा केन्द्र बागलुङका प्रमुख शिव शर्माको अध्यक्षता, सहायक प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माको स्वागत मन्तव्य तथा अधिकृत श्याम थापा मगरको सञ्चालनमा सम्पन्न भएको हो।









