
काठमाडौं, फागुन २९
नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति व्यवस्थित बनाउन उपभोक्तालाई आधा सिलिण्डर मात्र उपलब्ध गराउने व्यवस्था गरेको छ। निगमले जारी गरेको विज्ञप्ति अनुसार, मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति विश्वव्यापी रूपमा प्रभावित भएको छ।
भारतमा समेत ग्यास आपूर्ति समस्याले उपभोक्तालाई असर गर्न थालेपछि नेपालमा आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ।
यसलाई नियन्त्रण गर्न निगमले २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म उपभोक्तालाई ७.१ के.जि. एलपी ग्यास भरिएको आधा सिलिण्डर मात्र उपलब्ध गराउने व्यवस्था गरेको छ। उक्त आधा सिलिण्डरको मूल्य रु ९५५ तोकिएको छ।
निगमले उपभोक्तालाई आफ्नो वास्तविक आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ।
देशमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने तयारी भइरहेको बेला बजारमा ग्यास अभाव हुनु बास्तविकता हाे कि कृत्रिम अभाव सृजना गर्न खाेजेकाे हाे यसबारे अहिलेसम्म कसैको पनि ध्यानाकर्षण हुन सकेको देखिदैन ।
बजारमा ग्यास बिक्रीवितरण गर्ने डिलर बिक्रेताले आम उपभोक्ताकाे मागलाई पुर्याउन सकेका छैनन् ।










