
बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५, दाँगमा अवस्थित प्रसिद्ध थानपति बाबा मन्दिरको पुनःनिर्माणका लागि वृहत् सहयोग संकलन अभियान सुरु गरिएको छ।
मन्दिरमा पूजा–आराधनाको अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानको सुरुवात गरिएको हो। बडिगाड गाउँपालिका–५ वडा कार्यालयको समन्वय, अध्यक्षको विशेष उपस्थिति तथा थानपति मन्दिर संरक्षण तथा प्रवर्द्धन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा १६ लाख ७९ हजार ७ सय रुपैयाँ बोल रकम संकलन भएको समितिका अध्यक्ष लोकनाथ घिमिरेले जानकारी दिनुभयो।
यस क्षेत्रको आस्थाको धरोहर मानिने मन्दिरमा विगतमा सरकारी तवरबाट टुक्रे योजनामा रकम छुट्टिने गरे पनि एकीकृत विकासको प्रभावकारी पहल हुन नसक्दा मन्दिर ओझेलमा परेको थियो।
अभियानलाई निरन्तरता दिँदै पुरातात्त्विक तवरबाट एकीकृत निर्माण सुरु गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण पहलमा वडा कार्यालयले प्राथमिकता दिने वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए। उनले राज्यकोषबाट निर्माणका लागि पटक–पटक प्रयास गर्दा पनि विभिन्न अड्चनका कारण काम अघि बढ्न नसकेको स्वीकार गर्दै आफ्नो कार्यकालमै मन्दिर पुनःनिर्माण गर्ने प्रण व्यक्त गरे। साथै, देश–विदेशमा रहेका सम्पूर्ण श्रद्धालुहरूलाई सहयोगका लागि आह्वान गरे।
कार्यक्रममा उपस्थित ५० भन्दा बढी व्यक्तिले स्वतःस्फूर्त रूपमा रकम बोल गरेका थिए। समितिले फागुन १२ गते पुनः छलफल गरी आर्थिक संकलन समिति तथा विभिन्न उप–समिति गठन गर्ने, सहयोगीको नाम र रकम क्रमशः सार्वजनिक गर्ने जनाएको छ।
मन्दिर वि.सं. करिब १७०० सालतिर योगीले तपस्या गर्दागर्दै देहत्याग गरेको स्थानमा स्थापना भएको मानिन्छ। किंवदन्तीअनुसार त्यही ठाउँमा गाईबाट दूध आफैं झर्ने गरेको र भगवानले गाईको दूध धार दिनुपर्छ भनेर मन्दिरको परम्परा सुरु भएको उल्लेख पाइन्छ।















