
रुकुम, फागुन ४ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमबाट अब विकास र समृद्धिको अभियान सुरु गर्ने घोषणा गर्नुभएको छ।
पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा आयोजित चुनावी सभामा उहाँले दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो। साथै, दलित समुदायको हितका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गर्नुभयो।
प्रचण्डले रुकुमलाई सडक सञ्जालसँग जोड्ने योजनामा जोड दिँदै तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्डको स्तरउन्नति गर्ने बताउनुभयो।
जनयुद्धबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानले सबैलाई अधिकार दिएको स्मरण गर्दै उहाँले अब यही क्षेत्रबाट समृद्धि र विकासको नयाँ अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।















