
बागलुङ, माघ २७
समाजमा सामाजिक उत्तरदायित्वसहितको भूमिका निर्वाह गर्ने उद्देश्यले गठन भएका सामाजिक संस्था अन्तर्राष्ट्रिय बिहुँकोट मञ्च र हाम्रो दृष्टि राम्रो दृष्टि जापानले बागलुङको एक शैक्षिक संस्थालाई शुद्ध खानेपानीका लागि वाटर डिस्पेन्सर मेसिन सहयोग गरेका छन्।
बागलुङ नगरपालिका–४, कुडुलेमा अवस्थित श्री मुक्तिनाथ वेदविद्याश्रममा संस्कृत विषय अध्ययनरत बटुक, शिक्षक तथा सालग्राम संग्रहालय अवलोकनका लागि आउने भक्तजनलाई तातो र चिसो पानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।

संस्थाहरूले गरेको सहयोगले बिद्यालय अध्ययनरत बिद्यार्थी शिक्षक र बिद्यालयमा सालग्राम संग्रहालय अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई शुद्व सफा खानेपानी पिउनु सहज भएको सालग्राम संग्राहलयका संरक्षक ऋषि स्वामी प्रपन्नाचार्यले बताउनुभयो ।
दुवै संस्थाको संयुक्त पहलमा ८१ हजार १०० रुपैयाँ मूल्य बराबरको वाटर डिस्पेन्सर मेसिन सालग्राम संग्रहालयका संरक्षक स्वामी ऋषि प्रपन्नाचार्यलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको बिहुँकोट विकास मञ्चका अध्यक्ष वेदप्रसाद कडेलले जानकारी दिनुभयो।
अध्यक्ष कडेलका अनुसार संसारभर फैलिएका बिहुँकोट बागलुङका दाजुभाइ तथा दिदीबहिनीबीच आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय बिहुँकोट मञ्च गठन गरिएको हो। स्थापना भएको छोटो अवधिमै मञ्चले मानव सेवा आश्रम, बाढीपीडितलगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो।

उहाँले हाल गरिएको सहयोग तीज कार्यक्रम आयोजना गर्दा बचत भएको रकमबाट सम्भव भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै प्रकारका सामाजिक तथा मानवसेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय बिहुँकाेट मन्च ,हाम्रो दृष्टि राम्रो दृष्टि ,र बिहुँकाेट विकास मन्च नवलपुर चितवन क्षेत्रीय समिका प्रतिनिधिकाे उपस्थितिमा सहयोग हस्तान्तरण कार्यक्रममा सम्पन्न भएको थियोे ।












