
काठमाडौं । चलचित्र ‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ। ‘दुई अक्षरको माया’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो।
गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ। प्रेम र सम्बन्धलाई केन्द्रमा राखिएको यस गीतमा ‘माया’ शब्द बुझ्न कति कठिन हुन्छ भन्ने भाव व्यक्त गरिएको छ। प्रेम, विश्वास र त्यसमा हुने घातलाई गीतमा सुन्न सकिन्छ।
गीतको भिडियोमा मुख्य कलाकार अर्पण थापा र बेनिशा हमालको अभिनय रहेको छ। उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतमार्फत देखाउने प्रयास गरिएको छ।
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रि–बुकिङ खुला भइसकेको छ। देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स बुकिङ सुरु भइसकेको चलचित्रले सन्तोषजनक शो पाएको छ।
यो समाचार तयार पार्दासम्म ‘द ब्लू लाइट’ले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा १३ शो पाएको छ भने मोफसलमा १२ शो पाएको छ।
त्यस्तै, देशको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका पाँच आउटलेटमा ८ शो, बिग मुभिजले ३ शो र एफक्युब सिनेमाले ३ शो दिएका छन्। केही हलमा शो खुल्न बाँकी रहे पनि अग्रिम टिकट बुकिङ क्रमशः खुल्दै गएको छ। वितरण कम्पनी डिसिएनका अनुसार देशभर करिब १ सय २० भन्दा बढी शो पाउने अनुमान गरिएको छ।

निर्माण टिमले चलचित्रलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेको छ। ‘द ब्लू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, सृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
चलचित्रलाई बलिराम चौहानले निर्देशन गरेका छन्। यो उनको पहिलो निर्देशन हो।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्लू लाइट’मा भोलानाथ कटुवाल र रमन ग्रे सह–निर्माता रहेका छन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक हुन्।












