
काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ (French Kiss) निर्माण हुने भएको छ। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्रको घोषणा शुक्रबार वसन्तपञ्चमीको अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सरस्वती पूजा गर्दै शुभमुहूर्तसहित गरिएको हो।
नेपाली चलचित्र क्षेत्रमा फरक शैली र धारका निर्देशनका लागि चिनिने अभिनेता अर्पण थापाले आफ्नो नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’को औपचारिक घोषणा गरेका छन्। यस चलचित्रलाई थापाले स्वयं निर्देशन गर्नेछन्।
सोमबारदेखि चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुने भएको छ। चलचित्रमा अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। उनीसँगै अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको चलचित्र ‘शाम्बाला’बाट चर्चित भएकी अभिनेत्री थिन्ले ल्हामो पनि मुख्य भूमिकामा रहनेछिन्।
अभिनेत्री थिन्लेले यसअघि स्वीट्जरल्यान्डमा आयोजित विश्वप्रसिद्ध ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन्।
यस चलचित्रमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गरेकी थिन्ले र बहुमुखी अभिनेता अर्पण थापाको अनस्क्रिन जोडी देखिनेछ। साथै, अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि मुख्य भूमिकामा रहनेछन्।
चलचित्रको कार्यकारी निर्माता सौगात बस्नेत र सह–निर्माता सुभाष बी. शाही रहेका छन्। अनुभवी सिनेमाटोग्राफर सुदीप बरालले चलचित्र खिच्ने जिम्मा लिएका छन्।
संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यले दिनेछन्।
रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको यो चलचित्र सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।
शीर्षकले नै यो चलचित्र युवा पुस्ता र प्रेमकथामा आधारित हुने संकेत गर्छ। अभिनय र निर्देशनमा आफ्नै बेग्लै छाप छाड्न सफल अर्पण थापाको यो नयाँ प्रस्तुति नेपाली दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।













