चलचित्र ‘द ब्ल्यू लाइट माघ १६ गते रिलिज हुँदै

-


     हिडन खबर    
     माघ ८ गते २०८२ मा प्रकाशित


काठमाडौं माघ ७

आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदैछ । यसमा अनुभवी कलाकारहरूको अभिनय रहनेछ, जसले आफूलाई दर्शकमाझ पहिल्यै प्रमाणित गरिसकेका छन्।

अभिनय क्षेत्रमा अब्बल मानिएका कलाकारहरूको सहभागिता रहेको यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी थिइन्।

यस चलचित्रका अर्को मुख्य कलाकार महेश त्रिपाठी हुन्। उनले ‘हल्कारा’मार्फत अब्बल दर्जाको अभिनेता भनेर पहिचान बनाएका थिए। हाल हलमा प्रदर्शन भइरहेको चलचित्र ‘परान’मा पनि महेशको अभिनय देख्न सकिन्छ।

अर्पण थापा नेपाली चलचित्र उद्योगका सीमित उत्कृष्ट कलाकारमध्ये एक हुन्। उनको व्यक्तित्व र अभिनय शैली दर्शकलाई लोभलाग्दो लाग्ने गरेको छ।

त्यस्तै, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्माले पनि यस चलचित्रमा अभिनय गरेका छन्।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन्। यो उनको पहिलो निर्देशन हो। तर, चिफ एडीको रूपमा उनले थुप्रै चलचित्रमा काम गरेको अनुभव हासिल गरिसकेका छन्। गएको दसैँमा रिलिज भएको ‘बलिदान’मा पनि उनी निर्देशकीय टिममा संलग्न थिए।

साइकोलोजिकल थ्रिलर शैलीमा निर्माण भइरहेको यो चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गरेको हो। हालै युट्युबमा सार्वजनिक गरिएको ट्रेलरले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ। धेरैले नेपाली चलचित्रमा नयाँ स्वाद र फरक विधाको आगमन भएको भन्दै खुसी व्यक्त गरेका छन्।

गत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले दर्शकमाझ कौतुहलता र चर्चा पैदा गरेको छ। धेरैले चलचित्रको सस्पेन्स र कलाकारहरूको दमदार अभिनयको प्रशंसा गरेका छन्। विशेषगरी गम्भीर र जटिल विषयवस्तु रुचाउने दर्शकका लागि ‘द ब्ल्यू लाइट’ विशेष हुन सक्ने देखिन्छ।

ट्रेलरको सुरुवातदेखि नै रहस्यमयी र अँध्यारो परिवेश देखाइएको छ। अभिनेत्री बेनिशाले ‘माया’ नामक युवतीको भूमिका निर्वाह गरेकी छिन्, जो एक्लोपन र कुलतमा फसेकी देखिन्छिन्। ट्रेलरका दृश्यहरूले मायाको जीवनमा घटेका रहस्यमयी घटनाहरू, प्रेम, धोका र बदलाको कथालाई संकेत गर्छन्। विशेषगरी अर्पण थापाको रहस्यमयी भूमिका र प्रहरी सोधपुछका दृश्यहरूले चलचित्रको सस्पेन्सलाई अझ उचाइमा पुर्‍याएको छ। ‘विक्रम’ नामक पात्र वरिपरि घुमेको रहस्य र ‘द ब्ल्यू लाइट’ को अर्थले ट्रेलरलाई थप रोचक बनाएको छ।

निर्देशक चौहानका अनुसार चलचित्रको विषयवस्तु नयाँ नभए पनि प्रस्तुत गर्ने शैली फरक छ।
उनले भने, “हामीले देखाउन खोजेको विषयवस्तु नयाँ होइन। तर हामीले त्यसलाई नयाँ शैलीमा प्रस्तुत गरेका छौँ। यसभित्र रहेका पात्रका संवेग र भावनाहरू उच्च संवेदनशील छन्, जसले दर्शकलाई विशेष अनुभव दिने अपेक्षा गरेका छौँ।”

चलचित्र ‘द ब्ल्यू लाइट’का सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन्। कार्यकारी निर्माता भने यस चलचित्रका छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल स्वयं हुन्।