
बागलुङ, माघ ३
बागलुङ उद्योग वाणिज्य संघको ६२औं साधारण सभा तथा स्थापना दिवस आगामी फागुन २० गते आयोजना गर्ने निर्णय गरिएको छ।
संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र र गण्डकी प्रदेशमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।
शनिवार सम्पन्न बैठकले आसन्न ९औं प्रदेश सभामा संस्थाका निवर्तमान अध्यक्ष नरेश कडेललाई महासंघ प्रदेश अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको छ।
त्यस्तै, गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला नगरतर्फबाट सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरिएको छ। साथै, पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान केन्द्रीय सदस्य युवराज राजभण्डारीलाई आसन्न ६०औं वार्षिक साधारण सभा तथा अधिवेशनमा जिल्ला नगरतर्फ खुला केन्द्रीय सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरिएको महासचिव इन्द्रमणी पौडेलले जानकारी दिनुभयो।
बैठकले गत पुस ११ देखि २२ गतेसम्म सञ्चालन भएको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला एवं ८औं बागलुङ महोत्सव–२०८२ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रमुख अतिथि, सम्पूर्ण अतिथिहरु, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश महासंघ, जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवं उपप्रमुख, जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, सम्पूर्ण सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरु, महोत्सवका सह–आयोजक, सहयोगी तथा सहकार्य गर्ने संस्थाहरु, मुख्य प्रायोजक, सह–प्रायोजक, प्रवर्द्धक, विभिन्न इभेन्ट प्रायोजक, पत्रकार, पूर्व अध्यक्ष, वस्तुगत, एसोसियट, आजीवन तथा साधारण सदस्य, समाजसेवी, बुद्धिजीवी सबैलाई धन्यवाद ज्ञापन गरेको अध्यक्ष राजन कुमार शाक्यले बताउनुभयो।














