मेला–महोत्सवका लागि देश दौडाहामा व्यस्त गायिका रचना रिमाल

-


     सुवास आचार्य     
     माघ १ गते २०८२ मा प्रकाशित


बागलुङ, ३० पुष

बागलुङ । पछिल्लो समय देशका विभिन्न जिल्लामा मेला–महोत्सव आयोजना भइरहेका छन्, जसका कारण कलाकारहरूको व्यस्तता बढ्दो छ। तीमध्ये पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सर्वाधिक व्यस्त देखिन्छिन्। पौष ९ गते राष्ट्रिय औद्योगिक प्रदर्शनीबाट सुरु भएको उनको महोत्सव यात्रा हालसम्म दुई दर्जनभन्दा बढी कार्यक्रम पार गरिसकेको छ।

त्यसयता उनले धादिङको गल्छी महोत्सव, इलामको सांस्कृतिक कार्यक्रम, तनहुँको दोस्रो भन्सार बजार महोत्सव, कैलालीको अत्तरिया महोत्सव, झापाको दुधे रंगशालामा आयोजित ‘न्यु एयर इभ’ कन्सर्ट, आठौँ पर्वत महोत्सव, बाँकेको कोहलपुर महोत्सव, दाङको तुल्सीपुर महोत्सव, सिन्धुलीको मरिण महोत्सव, आठौँ बागलुङ महोत्सव, गोरखाको १२औँ गोरखा महोत्सव, चितवनको रत्ननगर महोत्सव, उदयपुरगढी गाउँपालिका महोत्सव, दाङको घोराही महोत्सव तथा गुल्मीको भाटी मेलामा आफ्नो प्रस्तुति दिएकी छन्।

रिमालले दैनिकजसो सामाजिक सञ्जालमार्फत मेला–महोत्सवका तस्वीरहरू सार्वजनिक गरिरहेकी छन्। उनको स्टेज कार्यक्रमको तालिका निकै लामो छ। फेसबुकमा पोष्टर सार्वजनिक गर्दै उनले लेखेकी छन्— “नमस्कार, हजुरहरूको माया र आशिर्वादले यो सांगीतिक यात्रा सम्भव भएको छ। जता पायक पर्छ, त्यतै भेटौँ है।”

माघ १ गते बागलुङको कुश्मीसेरामा हुने माघे संक्रान्ति महोत्सवमा उनको प्रस्तुति रहनेछ। पौष २२ गते आठौँ बागलुङ महोत्सवमा दमदार प्रस्तुति दिएकी उनी एक सातापछि पुनः कुश्मीसेरा आउने तयारीमा छिन्।

त्यसपछि बाँकेको नेपालगञ्जमा आठौँ प्रादेशिक महोत्सव, नुवाकोटको सांस्कृतिक तथा पर्यटन उत्सव, कञ्चनपुरको महेन्द्रनगर, कैलालीको टीकापुर महोत्सव, पर्साको ठोरीमा माघी ल्होछार मेला, नवलपरासीको गैडाकोट महोत्सव, बर्दियाको बाँसगढी महोत्सव तथा नुवाकोटको विदुरमा हुने महोत्सवमा उनको कार्यक्रम तय भइसकेको छ।

मेला–महोत्सव मात्र नभई रिमाल स्टुडियोमा पनि अत्यन्त व्यस्त रहने गायिकामध्ये एक हुन्। मंगलबार उनले सातवटा नयाँ गीत रेकर्डिङ गरेर दाङको घोराही महोत्सवमा प्रस्तुति दिएकी थिइन्। काठमाडौंमा रहँदा उनले दैनिक नयाँ गीत रेकर्डिङ गर्ने गर्छिन्। हालै बजारमा आएको “लाग्छ सरमै” गीतलाई दर्शक–श्रोताले निकै रुचाएका छन्।

सुगम संगीतकी लोकप्रिय कलाकार रिमाल देश–विदेशमा पनि भ्याइनभ्याइ छिन्। माघ महिनामा पनि थुप्रै कार्यक्रमका अफर आएको उनले बताएकी छन्।

सधैं सरल र स्वाभाविक जीवनशैली अपनाउँदै आएकी रिमाल गीत–संगीतमै पूर्ण रूपमा समर्पित छिन्। निरन्तर मेहनत, अनुशासन र सादगी जीवन उनका पहिचान बनेका छन्। छोटो समयमै ठूलो सफलता हात पारेकी सुमधुर स्वरकी धनी रचनाले लोक, आधुनिक तथा पार्श्व (फिल्म) गायनसहित विभिन्न विधामा २ हजार १ सयभन्दा बढी गीतमा स्वर दिएकी छिन्।

स्टेजमा पनि आफ्ना गीतझैँ दर्शक–श्रोताबाट अपार माया पाउने गरेको र आगामी दिनमा अझै राम्रो काम गर्न प्रेरणा मिल्ने उनले बताएकी छन्।