
काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आएका छन्। आरआर फिल्म्सका सञ्चालक समेत रहेका उनले चलचित्र ‘मिरमिरे’ मार्फत कार्यकारी निर्माता बनेका हुन्।
चलचित्र वितरणमा सक्रिय रहेका उनी किन निर्माता बने? यसको उत्तरमा रोहित भन्छन्— “निर्माणका हिसाबले ‘मिरमिरे’ मेरो तेस्रो चलचित्र हो। जब निर्देशक यम शेर्पाले यो चलचित्रको कथा सुनाउनुभयो, मलाई कथा मन पर्यो। राम्रो कथामा चलचित्र निर्माणको अफर आउँदा सहकार्य नगर्ने भन्ने सोच आएन, त्यसैले लगानी गरेको हुँ।”

बाबु–छोरीबीचको कथाले आफूलाई गहिरो रूपमा छोएको रोहित बताउँछन्। “यो हामी सबै नेपालीको कथा हो, घरघरको कथा हो। धेरै नेपालीले भोगेको र देखेको कथा भएकाले मलाई सुन्नासाथ मन परेको हो,” उनले भने।
राम्रो कथामा चलचित्र निर्माणका लागि आफू सधैँ तयार रहने उल्लेख गर्दै रोहितले वितरण वा निर्माणमार्फत दर्शकमाझ उत्कृष्ट चलचित्र ल्याउनु आफ्नो दायित्व भएको बताए।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ। यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेका यस चलचित्रमा गोविन्द बोहरा र सुदीप कुँवर सह–निर्माता हुन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक रोहित कट्टेल स्वयं रहेका छन्।

यस चलचित्रका लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् भने सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन्।
चलचित्र ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।













