
काठमाडौं ।पुस २९
चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन्, जो अभिनेता दयाहाङ राईसँग समानान्तर रूपमा प्रस्तुत भएकी छन् । ट्रेलरमा उनी दयाहाङको छोरीको भूमिकामा देखिएकी छिन् ।
दयाहाङको छोरीको भूमिकामा देखिएकी बाल कलाकार शाइसा गौचन हुन् । उनले आमाको अभाव महसुस गरिरहेकी छोरीको पात्र निर्वाह गरेकी छन् । सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा उनलाई देखाइएको छ ।

ट्रेलरमा आमाको अभावमा उनले गरेको अभिनय दर्शकले मन पराइरहेका छन् । पोखराकी शाइसाको ‘मिरमिरे’ भने डेब्यु चलचित्र होइन । यसअघि उनले दुईवटा चलचित्रमा अभिनय गरिसकेकी छन् । शाइसाले ‘महाभोज’ र ‘वरिष्ठ बलराम’मा छोटो भूमिका निभाएकी थिइन् ।
“यसअघिका चलचित्रमा पनि शाइसाले दयाहाङसँगै काम गरेकाले ‘मिरमिरे’मा अभिनय गर्न सहज भयो,” चलचित्रका लेखक तथा निर्देशक यम शेर्पाले भने, “दयाहाङ दाइसँग पहिले नै घुलमिल नभएको भए सुरुवातमा काम गर्न कठिन हुने थियो ।”

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेका छन् भने सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन् । चलचित्रको कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन् ।
यस चलचित्रमा वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा रहेका छन् ।
चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।













