‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

-


     हिडन खबर    
     पौष २७ गते २०८२ मा प्रकाशित


काठमाडौं । म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा भव्य लाइभ म्युजिक प्रस्तुत गरेको छ। शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले सांगीतिक प्रस्तुति दिएको हो।

नेपाली रैथाने तथा नेवारी संगीतको प्रवर्द्धन गर्दै आएको ‘कुटुम्ब’ले साँझ करिब ५ बजेदेखि राति ९ बजेसम्म निरन्तर प्रस्तुति दिएको थियो।

कार्यक्रममा ‘कुटुम्ब’ले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू प्रस्तुत गर्‍यो। मौलिक धुनमा लोकप्रिय गीतका टुक्रा मिसाउँदा प्रस्तुति विशेष बनेको थियो। दर्शकहरू धुनसँगै झुमेका थिए।

ब्यान्डका सदस्यहरूले प्रस्तुत गरेका धुनहरूको महत्वबारे बेलाबेलामा व्याख्या गर्दै नेवारी रैथाने संगीतको प्रवर्द्धन पनि गरिरहेका थिए।

कलाभित्र पब्लिसिटीलाई सुटुक्क मिसाउँदै ब्यान्ड सदस्यहरूले माइकमार्फत ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’लाई काठमाडौंभित्रै शान्त र सुन्दर स्थान, स्वर्गको सानो टुक्रा भएको अनुभूति गराइरहेका थिए। दर्शकहरूले भव्य तालीले साथ दिएका थिए।

“हाम्रो मुख्य उद्देश्य नेपाली मौलिक नेवारी संस्कृतिको प्रवर्द्धन गर्नुका साथै हाम्रो रिसोर्टबारे जानकारी गराउनु पनि हो। हामी पश्चिमी संगीतमा रमाइरहँदा हाम्रो आफ्नै सभ्य र भव्य मौलिक संगीत पनि छ भन्ने सन्देश दिन चाहन्छौं,” २९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालक दिमेश श्रेष्ठले भने। उनले थपे, “गीतसंगीत र व्यवसायलाई यसरी टाइअप गर्दै लैजान सकियो भने नेपाली मौलिक संगीत थप विस्तार हुँदै जानेछ।”

कन्सर्टमा प्रवेशका लागि टिकट मूल्य ५०० रुपैयाँ तोकिएको थियो।

दिमेशसँगै किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठको करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भएको ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ गत वर्षदेखि सञ्चालनमा आएको हो।