पोखरा सडक महोत्सवः दौड प्रतियोगिता सम्पन्न

-


     हिडन खबर    
     पौष १५ गते २०८२ मा प्रकाशित


पोखरा।पुस १५

पर्यटकीय राजधानी पोखराको लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा जारी २६ औँ संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दौड प्रतियोगिता सोमबार सम्पन्न भएको छ।

प्रतियोगितामा पुरुषतर्फ बेञ्जन रेष्टुरेन्टका प्रशान्त रोका प्रथम, चिल्ली बारका अमर परिवार द्वितीय तथा बेञ्जनकै इमन थापाले तृतीय स्थान हासिल गरे। महिलातर्फ डुङ्गा रेष्टुरेन्टकी मोनिका नेपाली प्रथम, मोमोज रेष्टुरेन्टकी रितिका पौडेल द्वितीय तथा बेलिफ रेष्टुरेन्टकी आश्मी क्षेत्री मगर तृतीय भइन्। उनीहरूले नगद क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे।

हलनचोकदेखि खहरेचोकसम्म भएको दौड प्रतियोगितामा पुरुषतर्फ २९ जना र महिलातर्फ ७ जनाले सहभागिता जनाएका थिए। उनीहरूलाई रेवाङ पोखराका अध्यक्ष विश्वराज पौडेल, महोत्सव संयोजक बसन्त गौतम, खेलकुद कार्यक्रम संयोजक सुमन भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए।

लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा जारी महोत्सव अन्तर्गत सोमबार सडक बहस कार्यक्रम पनि सम्पन्न भयो। अम्बटस्थित सडकमै आयोजित बहसमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराई र अग्रज पर्यटन व्यवसायी टीकाराम सापकोटा वक्ताका रूपमा प्रस्तुत भएका थिए भने सञ्चारकर्मी जमुना वर्षाले मोडरेसन गरेकी थिइन्। रेवाङ पोखराका महासचिव बीरेन्द्र शेरचनले कार्यक्रम सञ्चालन गरेका थिए।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि र सह–प्रायोजकमा यति डिस्टिलरी, बोटलर्स नेपाल (तराई) र दी नेपाल डिस्टिलरी प्रालि रहेका छन्। प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन्। त्यसैगरी सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर रहेको छ। म पानी, गृहालक्ष्मी ग्यास, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्था रहेका छन्। महोत्सवमा मंगलबार बिहान अम्बट घाटमा डुङ्गा दौड प्रतियोगिता हुने भएको छ।