
लेखनाथ, १४ पुस
पोखरा महानगरपालिका–लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१औँ लेखनाथ महोत्सव अवधिभर ११ करोडभन्दा बढी आर्थिक कारोबार भएको र दर्शक १ लाख ११ हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेकोले लक्ष्यभन्दा बढी सफल भएको हो।
महोत्सव सोमबार पुस १५ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा समापन हुँदैछ।

महोत्सवको पनि महोत्सव’का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र शिक्षा क्षेत्रलाई समेट्ने विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
महोत्सव अवधिभर साहित्यिक गोष्ठी, महिला विशेष कार्यक्रम, विद्यालयस्तरीय प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जैविक विविधतासम्बन्धी प्रदर्शनी, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, हस्तकला तथा स्थानीय उत्पादनहरूको प्रदर्शनी प्रमुख आकर्षणका रूपमा रहेका थिए। यसका साथै विभिन्न जातजातिका लोकनृत्य, रीति–रिवाज, चालचलन तथा सांस्कृतिक पहिचान झल्काउने उत्कृष्ट नृत्य तथा सांस्कृतिक प्रस्तुतिले दर्शकको मन जितेको थियो।

महोत्सवमा देशभरबाट ख्यातिप्राप्त हास्यव्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी गीत कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट, बाल उद्यान तथा खाना महोत्सवले दर्शकको उल्लेखनीय सहभागिता र उत्साह बढाएको थियो। विशेषगरी स्थानीय परिकार तथा कृषि उत्पादनको प्रवर्द्धनले स्थानीय व्यवसायी र कृषकहरूलाई प्रत्यक्ष लाभ पुगेको आयोजक समितिले जनाएको छ।
२१औँ संस्करणको लेखनाथ महोत्सवले यस क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको र यस्ता महोत्सवले सामाजिक एकता, सांस्कृतिक संरक्षण र आर्थिक विकासमा टेवा पुर्याउने भन्दै स्थानीय तहको तर्फबाट आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा विकासमुखी कार्यक्रमलाई निरन्तर सहयोग हुने महोत्सवका मूल संयोजक अध्यक्ष जानुका पराजुली अधिकारीले बताउनुभयो।
आयोजकका अनुसार महोत्सवले स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार–प्रसार गर्नुका साथै पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक चलायमानता बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। महोत्सव अवधिभर लाखौँ दर्शकले अवलोकन गरेको र अपेक्षाभन्दा उत्साहजनक सहभागिता देखिएको महोत्सवका संयोजक ध्रुवबाबु भट्टराईको दाबी रहेको छ।
कार्यक्रममा विभिन्न संघ–संस्था, कलाकार, स्वयंसेवक, प्रायोजक तथा सहयोगीलाई सम्मानसमेत गरिने आयोजक समितिले जनाएको छ। सफल आयोजनाका लागि स्थानीयवासी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सबै सहयोगीप्रति आयोजकले आभार व्यक्त गरेको छ।
औसतमा दैनिक २० हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेको र करिब ५० लाख रुपैयाँ बराबरको दैनिक आर्थिक कारोबार भएको संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिनुभयो।
महोत्सव अवधिभर ११ करोडभन्दा बढी आर्थिक कारोबार भएको र दर्शक १ लाख ११ हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेको आयोजक समितिले जनाएको छ।












