
पोखरा, पुस १३
पोखरा सडक महोत्सव सुरु भएसँगै पोखराको लेकसाइड कोमागाने पार्कमा सांगीतिक उत्सव पनि सुरु भएको छ।
रेवान पोखराको आयोजनामा सुरु भएको सडक महोत्सवसँगै कोमागाने पार्कमा ‘अल इन नेपाल’को संयोजनमा सांगीतिक उत्सव पनि सुरु भएको हो।
जहाँ एकै नेपाली तीन दशकपछि गुञ्जिनेछ। न्यू इयर इभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एकै नेपालीका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुति दिने अल इन नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए।
सो दिन न्यू इयर इभ विशेषमा उज्ज्वल शाक्य, डिमर्चा, लेकाली, देउराली ब्यान्डको पनि लाइभ प्रस्तुति रहने उनले बताए। उनका अनुसार न्यू इयर इभ स्पेशलको रूपमा यस वर्ष कार्टुन क्रुकी भाइरल डान्सर आश्मा विश्वकर्मा र सरोज अधिकारीले ‘छिकीरी, छिकीरी’ लगायतका गीतहरूमा प्रस्तुति दिनेछन्।
त्यस्तै, पुस १५ गते तमु समुदायको सांस्कृतिक पर्व ‘छोंसार’ विशेष कार्यक्रम हुने उनले जानकारी दिए। उनका अनुसार सो दिन छोंसार विशेष कार्यक्रमसँगै स्वप्न सुमन, केहर एण्ड द लुङ्गा, चक्र ब्यान्डलगायतको लाइभ प्रस्तुति रहनेछ भने प्रीति आले, देउराली ब्यान्डका पुराना गायक आनन्दराज बज्राचार्य, सन्तोष बस्याललगायतले प्रस्तुति दिनेछन्।
त्यस्तै, सो दिन दिउँसो दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहने उनले बताए। पुस १४ गते भने अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता हुने छ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल ब्यान्ड कम्पिटिसनका उपाधि विजेता तथा उपविजेताहरूको सांगीतिक प्रस्तुति रहने उनले जानकारी दिए।












