मिरमिरे’मा निर्देशक र मुख्य कलाकारबीचको त्रिकोणात्मक संयोग

-


     हिडन खबर    
     पौष १३ गते २०८२ मा प्रकाशित


किन दोहोरियो दयाहाङ–सिर्जनाको जोडी ?

यम शेर्पा भन्छन्– ‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ–सिर्जना’

काठमाडौं । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको अनस्क्रिन जोडी फेरि दोहोरिने भएको छ। यसअघि यो जोडी चलचित्र ‘कार्साङ’ मा सँगै देखिएको थियो।

संयोग के छ भने, दुवै चलचित्रका निर्देशक एउटै हुन्। ‘कार्साङ’ निर्देशन गरेका यम शेर्पाले नै ‘मिरमिरे’ पनि निर्देशन गरेका हुन्। यसरी निर्देशक यम शेर्पा र मुख्य कलाकार दयाहाङ–सिर्जनाबीचको त्रिकोणात्मक सहकार्य पुनः दोहोरिएको हो।

आफ्नो दोस्रो चलचित्रमा पनि दयाहाङ र सिर्जनालाई नै किन रोज्नुभयो भन्ने प्रश्नमा निर्देशक यम शेर्पा भन्छन्,
“एकपटक सँगै काम गरिसकेपछि त्यही कलाकारसँग फेरि काम गर्न सहज हुन्छ। पहिलो काममै कलाकारको काम गर्ने शैली, अनुशासन र आनीबानी थाहा भइसकेको हुन्छ।”
दयाहाङ राईको लोकप्रियताले पनि पुनः छनोटमा भूमिका खेलेको उनी बताउँछन्।

दयाहाङ राई सर्वप्रिय नायक हुनुहुन्छ। नायिकाको हकमा पनि पहिलो चलचित्रमै सँगै काम गरिसकेकाले सहजता हुन्छ,” यम शेर्पा भन्छन्।उनका अनुसार ‘मिरमिरे’ को कथाले नै दयाहाङ र सिर्जना जस्तै पात्रको माग गर्थ्यो।

“स्क्रिप्ट लेख्दादेखि नै मेरो दिमागमा दयाहाङ र सिर्जनाकै छवि थियो। कथाको माग र पहिल्यैको सहकार्यका कारण यो संयोजन स्वाभाविक रूपमा दोहोरियो,” निर्देशक यमले स्पष्ट पारे।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको ‘मिरमिरे’ मा दयाहाङ र सिर्जनासँगै अभिनेता प्रकाश सपूत पनि मुख्य भूमिकामा छन्। दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। साथै, शाइसा गौचनले दयाहाङकी छोरीको भूमिका निभाएकी छन्।

केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाबुले गर्ने संघर्षको कथा प्रस्तुत गर्छ। आमाले घर छोडेपछि बाबु र छोरी मात्रै रहने अवस्था, सानी छोरीको स्याहार, घरको काम, स्कुल र जागिर—यी सबै जिम्मेवारी एक्लै बुवाले कसरी सम्हाल्छन् भन्ने कथा चलचित्रको केन्द्रमा छ।

छोरीले बुवाप्रति गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको भावनात्मक कथाले दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’ मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु र शाइसा गौचनसँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको यस चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
चलचित्र ‘मिरमिरे’ को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।