‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक, देखियो त्रिकोणात्मक प्रेमकथा

-


     हिड्न मनाेरन्जन खबरदाता     
     पौष ८ गते २०८२ मा प्रकाशित


काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘मिरमिरे भो’ बोलको यस गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ । गीतका शब्द तथा संगीत पनि प्रकाश सपूतकै हुन् ।

सार्वजनिक गीतमा युवा–युवतीबीचको प्रेम, पहिलो भेटपछिको आकर्षण र सुन्दरताले पार्ने प्रभावलाई चित्रण गरिएको छ । युवकको दृष्टिले युवतीमा पार्ने अनुभूति र युवतीको सौन्दर्यको बयान गीतमार्फत प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु देखिएका छन् । भिडियोमा सिर्जनाको सुन्दरताबाट प्रभावित दयाहाङ र प्रकाशबीचको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

यसले चलचित्रमा पनि यस्तै प्रेमकथा समेटिएको संकेत गर्छ, जुन कुरा यसअघि सार्वजनिक टिजरमा समेत देख्न सकिन्छ ।

माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिरमिरे’को टिजरलाई दर्शकले रुचाएका थिए । टिजरमा बाबु–छोरीबीचको भावनात्मक दृश्यका साथै मुख्य तीन पात्रबीचको सम्बन्ध र द्वन्द्व देखाइएको थियो ।

चलचित्रमा दयाहाङ राईले बाबुको भूमिका निभाएका छन् भने उनकी छोरीको भूमिकामा शाइसा गौचन देखिएकी छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन् । कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
चलचित्र ‘मिरमिरे’को देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।


Song Link: https://www.youtube.com/watch?v=NPmmiaMR9Nw