
कास्की पुस ४ ,
हेमजा युनाइटेड पोखरा–२५, हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले आफ्नो वार्षिक क्यालेन्डरअनुसार पोखरा–२५ हेमजा देवीस्थानस्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि कापी, कलमलगायत स्टेशनरी सामग्री तथा न्यानो कपडा (स्विटर र टोपी) वितरण गरेको हो । विद्यालयका ४२ जना विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिएको क्लबका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक निराजन अधिकारीले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तमान श्रेष्ठले विद्यालयको अवस्था र आवश्यकताबारे जानकारी गराउँदै प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको बताए । साथै, हेमजा युनाइटेड खेलकुदसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा लागिरहेको उल्लेख गर्दै क्लबले गरेको सामाजिक कार्यको प्रशंसा गरे ।
युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठले क्लबले वार्षिक क्यालेन्डरअनुसार खेलकुदसँगै मासिक रूपमा सामाजिक हितका विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । मौसमअनुकूल न्यानो कपडा तथा आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको उल्लेख गर्दै जाडो बढेसँगै स्विटर र टोपीले बालबालिकालाई नियमित रूपमा विद्यालय आउन सहज हुने र स्टेशनरी सामग्रीले पठन–पाठनमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । प्रविधियुक्त शिक्षालाई निरन्तरता दिन आग्रह गर्दै आगामी दिनमा आवश्यक सहयोग र सहजीकरणका लागि युनाइटेड परिवार सधैं साथमा रहने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकारी, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नारायणबहादुर कुँवर, प्रधानाध्यापक इन्दुकुमारी पुनलगायतले मन्तव्य राखेका थिए ।
क्लब पदाधिकारी, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सञ्चालन क्लबका सचिव महादेव अधिकारीले गरेका थिए ।













