प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो २१औँ वर्षमा प्रवेश

-


     हिडन खबर    
     पौष ३ गते २०८२ मा प्रकाशित


नेपालको जनआन्दोलन २०६२/०६३ (जनआन्दोलन–२) १९ दिनसम्म चलेको ऐतिहासिक आन्दोलन हो। यस आन्दोलनले नेपालको २३७ वर्ष पुरानो राजतन्त्र अन्त्य गरी देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। जनआन्दोलनमा विभिन्न राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थी तथा कलाकारहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

सोही समयमा नेपालको राजधानी काठमाडौँमा आन्दोलनको तीव्र प्रभाव परिरहेको थियो। त्यतिबेला काठमाडौँमा कुनै पनि व्यवसाय सञ्चालन गर्नु अत्यन्त कठिन थियो। यस्तै चुनौतीपूर्ण अवस्थामा पनि २०६२ साल पुस २ गतेदेखि प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोको औपचारिक सुरुवात गरिएको थियो।

दुई दशक सफलतापूर्वक पार गर्दै प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो हाल २१औँ वर्षमा प्रवेश गरेको छ। काठमाडौँको बबरमहलबाट सञ्चालन हुँदै आएको यो स्टुडियो हाल निकै व्यस्त स्टुडियोका रूपमा परिचित छ। चालु आर्थिक वर्षमा मात्र करिब ५०० गीत रेकर्डिङ भएका छन् भने हालसम्म करिब २३ हजारभन्दा बढी गीतहरूको रेकर्डिङ सम्पन्न भइसकेको छ।

स्टुडियोमा रेकर्ड भएका हजारौँ लोकदोहोरी, आधुनिक, पप तथा चलचित्र गीतहरूमध्ये
कुटुमा कुटु सुपारी दाना, सुर्के थैली, डाँडाघरे साईली, मत ढलें ढलें, अरैली काँडैले, तिमीले पराई, हाँस्नलाई ओठ खोलें, जहाँ तिमी त्यहाँ म, गोर्खा पल्टन, रिमै, तोरी फुल्दा लागेको पिरती, सुपारी चाम्रो, घरमा पराल, सान्नानीले झुक्यायो मलाई, सोचे जिन्दगी रैनछ, कास्मिरे पछ्यौरी, रुमाल धोको छु, तिमीले दिने माया, पहिलो नम्बरमा, पर्ख पर्ख मायालु, पूर्व–पश्चिम रेल, गल्बन्दी च्यातियो, भिजिट भिसामा, बन्दीपुरैमा, बोतलको पानीले, वल्लै भो भेट, औँठी कसैको, सुनपानीला छर्क मायालु, दुई चुल्ठी बाटेर (बाटुली), तिर्खा लाग्यो पानी खाए, मलाई बाँसुरीले रुवायो, फुलबुट्टे सारी, बिछोडको करौँतीले, ओए स्यानी, के भनौँ र खोई जस्ता गीतहरू अत्यन्त सफल तथा हिट भएका छन्।

स्टुडियो २१औँ बसन्तमा प्रवेश गरेको अवसरमा स्टुडियो सञ्चालक विवि अनुरागीले सम्पूर्ण दर्शक तथा श्रोता माझ खुशी साटेका छन्। उनले सर्जक, लगानीकर्ता, गायक–गायिका, वाद्यवादक, स्टुडियोमा अहोरात्र खट्ने प्राविधिक तथा कर्मचारी दाजुभाइ तथा दिदीबहिनीहरू, साथै दक्ष र मेहनती ध्वनि इन्जिनियर श्यामश्वेत रसाइलीलाई विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।