‘मिरमिरे’को गीतमा दयाहाङ राईकी पत्नी बेनुकाको स्वर

-


     हिडन खबर    
     पौष १ गते २०८२ मा प्रकाशित


काठमाडौं । अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक भएसँगै दर्शकको ध्यान तान्न सफल भएको छ । बुवा–छोरीबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्ने टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रमोशनल सामग्री सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिँदै निर्माण टिमले केही दिनभित्र चलचित्रको गीत सार्वजनिक गर्ने तयारी गरेको छ । चलचित्रको कथावस्तु बोल्ने उक्त गीतमा गायिका बेनुका राईको स्वर रहेको निर्माण पक्षले जनाएको छ । बेनुका अभिनेता दयाहाङ राईकी पत्नी हुन् ।

गायन क्षेत्रमा परिचित बेनुका विवाहपछि र दयाहाङ राई अभिनयमा व्यस्त भएपछि भने कम सक्रिय हुँदै आएकी छन् । ‘मिरमिरे’का लागि उनले भावनात्मक गीत गाएकी हुन् । गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत रहेको छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।

चलचित्रको लेखन तथा निर्देशन यम शेर्पाले गरेका हुन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेका छन् भने गोविन्द बोहरा र सुदिप कुँवर सह–निर्माता छन् । आरआर फिल्म्सका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल कार्यकारी निर्माता हुन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।