रमेश बिक्रम रत्नको ‘काँचो बाँस माथि’ सार्वजनिक

-


     केपी कुमार जलन     
     मंसिर ३० गते २०८२ मा प्रकाशित


झण्डै एक दर्जन गीत बजारमा ल्याइसकेका म्याग्दी, जामरुककोटका गायक रमेश बिक्रम रत्नको नयाँ संस्करणमा रहेको ‘काँचो बाँस माथि’ बोलको गीत सार्वजनिक गरिएको छ।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रत्नले ट्याक्सी व्यवसायसँगै पछिल्लो समय गीत–संगीतलाई निरन्तरता दिँदै आएका छन्। वि.सं. २०६३ सालमा चर्चित गायिका देवी घर्ती मगर र गायक रमेश बिक्रम रत्नको स्वरमा सार्वजनिक भएको उक्त गीतलाई रत्नले नयाँ संस्करणमा पुनः बजारमा ल्याएका हुन्।

नयाँ संस्करणमा गायिका लक्ष्मी परियार र गायक दिपेन थापाको स्वर रहेको छ। गीतको शब्द सुजन क्षेत्रीले लेखेका हुन् भने संगीत रमेश बिक्रम रत्नकै रहेको छ।

माया–प्रेमको कथा, युवा जोडीको प्रेम सम्बन्ध र त्यसपछि हुने सम्बन्ध विच्छेदबाट उत्पन्न परिस्थितिको परिकल्पनालाई समेट्दै गीत तयार गरिएको हो।

गीतको म्युजिक भिडियोमा गायक दिपेन थापा, रिना गुरुङ र रमेश बिक्रम रत्नको मुख्य भूमिका रहेको छ। केशवराज भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन र राजकुमार मगरको सम्पादनमा तयार गरिएको म्युजिक भिडियो दिपेन थापा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।